राजनीति

लुम्बिनी प्रदेशको भावी मुख्यमन्त्री को ? यस्ता छन् आकांक्षीका अनुहार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक ४ गते २१:३९
लुम्बिनी प्रदेशको भावी मुख्यमन्त्री को ? यस्ता छन् आकांक्षीका अनुहार (भिडियो रिपोर्टसहित)

४ कात्तिक २०७९ काठमाडौं । अन्य प्रदेशमा जस्तै लुम्बिनीमा पनि मुख्यमन्त्रीबारे बहस सुरू भएको छ । बुद्ध जन्मस्थल लुम्बिनी प्रदेशको भावि मुख्यमन्त्रीका लागि प्रमुख तीन दल एमाले र कांग्रेस– माओवादी केन्द्रका ११ जना नेताले आकांक्षा देखाइसकेका छन् । हेरौं लुम्बिनीको भावि मुख्यमन्त्रीका आकांक्षीको अनुहार ।

को बन्ला लुम्बिनीको मुख्यमन्त्री ?
कुल ८७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४४ सिट आवश्यक पर्छ । ५२ जना सांसद प्रत्यक्ष निर्वाचित हुने यो प्रदेशमा समानुपातिबाट ३५ जना छानिने छन् । एक कार्यकालमा दुइ मुख्यमन्त्री पाएको लुम्बिनीमा संस्थापक मुख्यमन्त्री शंकर पोखरेल अहिले एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । त्यस्तै, हालका मुख्यमन्त्री माओवादी नेता कुलप्रसाद केसीले टिकट नै पाउनुभएन ।

आगामी मुख्यमन्त्रीको चर्चा अघि अघिल्लो संसदको अवस्था हेरौं –
अघिल्लो संसदमा १३ समानुपातिकसहित एमालेको ४१ सिट थियो । ६ समानुपातिकसहित माओवादी केन्द्रका २० सांसद थिए भने १२ समानुपातिकसहित कांग्रेसले १९ सांसद जितेको थियो । तत्कालीन संघीय समाजवादी फोरमको दुई र राजपा र जनमोर्चाका एक–एक सांसद थिए । यस पटक नेकपा एमालेले केही सिटमा जसपासँग तालमेल गरेको छ भने सत्ता गठबन्धनका दलहरुको सबै क्षेत्रमा चुनावी तालमेल छ ।

एमालेबाट चार दाबेदार
अघिल्लो चुनावमा एमालेलाई जति सहज थियो यो पटक त्यती नै चुनौतीपुर्ण छ । यस पटक नेकपा विभाजनपछि माओवादी केन्द्र र एमाले विभाजनपछि एकीकृत समाजवादी पनि सत्ता गठबन्धनबाट चुनाव लडेकाले एमालेका लागि सहज जित निकाल्न कठिन हुने देखिन्छ । यस पटक एमालेबाट मुख्यमन्त्रीमा चार जना नेताले आकांक्षा देखाएका छन् ।

लिला गिरी
एमालेबाट रुपन्देही २ को प्रदेशसभा एक बाट उम्मेदवार बन्नुभएका पोलिटब्यूरो सदस्य एवं प्रदेश सहइञ्चार्ज लिला गिरीलाई मुख्यमन्त्रीका प्रमुख दावेदारका रुपमा हेरिएको छ ।

भोजप्रसाद श्रेष्ठ
रुपन्देही २ को प्रदेशसभा दुईमा उम्मेदवार रहेका एमाले लुम्बिनी उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ पनि मुख्यमन्त्रीको दाबेदार हुनुहुन्छ ।

दधिराम न्यौपाने
रुपन्देही १ को प्रदेश १ मा उम्मेदवार रहेका न्यौपानेलाई पनि भावि मुख्यमन्त्रीका रुपमा प्रचार गरिएको छ । पूर्वमाओवादी नेता न्यौपानेले सांसद पद त्यागेर नेकपा विभाजनपछि ओमाले अध्यक्ष ओलीलाई साथ दिएकाले उहाँमाथि नेतृत्वको नजर छ ।

घनश्याम पाण्डे
दाङ तुल्सीपुरका पूर्वमेयर घनश्याम पाण्डे पनि दाबेदार देखिनुभएको छ । दाङ ३ को प्रदेशसभा एकमा उम्मेदवार रहेका पाण्डेलाइ भावि मुख्यमन्त्रीका रुपमा चर्चा चलाइएको छ ।

कांग्रेसबाट चार जनाको दाबी
मुख्यमन्त्रीको दौडमा नेपाली कांग्रेसबाट सबैभन्दा धेरै दाबेदार छन् । संस्थापन र इतर समुहका नेताहरुको दाबेदारीमा केन्द्रको निर्णय निर्भर हुने छ ।

अमरसिंह पुन
प्रदेश सभापति अमरसिंह पुनको प्रमुख दाबेदारी देखिएको छ । तर, कांग्रेसभित्रको संस्थापन इतर पक्षका भएकाले पुनलाई रोक्ने संस्थापन पक्षको रणनीति छ । संविधानसभा सदस्य र राज्यमन्त्री भइसक्नुभएका पुन लुम्बिनीमा कांग्रेसका सिनियर नेता हुनुहुन्छ । पुन रोल्पाको प्रदेशसभा २ मा उम्मेदवार हुनुहुन्छ ।

अब्दुल रज्जाक
कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणको ‘इन्ट्रेस्ट’ मा रुपन्देही १ का अब्दुल रज्जाकलाई अन्तिम समयमा प्रदेशमा अघि सारिएको छ । संस्थापन पक्षले रज्जाकलाई मुख्यमन्त्रीका रुपमा प्रचार गरेको छ । प्रतिनिधि सभा सदस्य र संघीय सरकारको राज्यमन्त्री समेत भएका रज्जाकलाई उम्मेदवारी दर्ताको अन्तिम समयमा टिकट दिएर प्रदेशमा ल्याइएको हो ।

वीरेन्द्र कनौडिया
संस्थापन पक्षकै नेता एवं अघिल्लो प्रदेश सभा संसदीय दलका नेता वीरेन्द्र कनौडिया पनि मुख्यमन्त्रीको दौडमा हुनुहुन्छ ।कनौडियाले शंकर पोखरेल नेतृत्वको एमाले सरकार विस्थापित गरेर माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउँदा आलोपालो गर्ने र ८ महिनापछि आफू मुख्यमन्त्री बन्ने सहमति भए पनि त्यो हुन नसकेकाले अबको कार्यकालमा आफू नै दाबेदार भएको कनौडियाको तर्क छ ।

डिल्ली चौधरी
कांग्रेस नेता एवं पूर्वमन्त्री दिल्ली चोधरी पनि मुख्यमन्त्रीका आकांक्षी हुनुहुन्छ ।

माओवादीका तीन आकांक्षी
तेस्रो ठूलो दल माओवादी केन्द्रबाट मुख्यमन्त्रीमा तीन जनाले आकांक्षा देखाएका छन् ।

सुदर्शन बराल
माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल बलियो दावेदार मानिनुहुन्छ । गुल्मी क्षेत्र नम्बर १ को प्रदेशसभा १ का उम्मेदवार बराल शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो।

जोखबहादुर महरा
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिएका जोखबहादुर महरा मुख्यमन्त्रीको बलियो दाबेदार मानिनुहुन्छ । प्रचण्डबाट नै मुख्यमन्त्री बनाउने आश्वासन पाएका महरा रोल्पा प्रदेशसभा १ बाट उम्मेदवार हुनुहुन्छ ।

वामदेव क्षेत्री
माओवादीबाट रुपन्देहीका वामदेव क्षेत्री पनि आकांक्षी भए पनि उहाँ पार्टीभित्रै आलोचित हुनुहुन्छ । प्रदेश योजना आयोग उपाध्यक्ष रहेका क्षेत्रीका कारण मुख्यमन्त्री कुलप्रसाद केसी समेत विवादित बनेको उहाँलाइ आरोपछ । क्षेत्री रूपन्देही क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट उम्मेदवार हुनुहुन्छ ।

प्रदेशमा चौथो शक्ति रहेको जनता समाजवादी पार्टी भने यसपटक विभाजनले छिन्नभिन्न छ । पार्टीका प्रदेश अध्यक्ष अशोक यादव कपिलवस्तुमा आफैं उम्मेदवार रहेकाले गठबन्धन हुँदा आफू पनि दावेदार हुनु अस्वभाविक नहुने तर्क गर्नुहुन्छ ।

प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी लगायतका दलहरुको पनि उपस्थिति छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्