Main News

प्रचारप्रसारमा आचारसंहिताविपरीत गर्नेलाई कारबाही गर्ने आयोगको चेतावनी

फेसबुक कम्पनी मेटासँग आयोगको छलफल

हिमालय टिभी
२०७९ कार्तिक १ गते ९:४८
प्रचारप्रसारमा आचारसंहिताविपरीत गर्नेलाई कारबाही गर्ने आयोगको चेतावनी

१ कात्तिक २०७९ काठमाडौं । सामाजिक सञ्जाल र भौतिक रूपमा गरिने चुनावी प्रचारप्रसार भड्किलो र आचारसंहिताविपरीत जान थालेपछि निर्वाचन आयोगले उम्मेदवारहरूलाई जिम्मेवारीपूर्वक गतिविधि नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

आचारसंहिता नमानेको खण्डमा त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने चेतावनी आयोगले दिएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कात्तिक १८ गतेभन्दा अघि आमसभा, गोष्ठी, सेमिनारलगायतका कुनै पनि माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न नपाइने बताउनुभयो ।

कात्तिक १८ भन्दा अघि घरदैलो कार्यक्रम गर्न भने आयोगले रोकेको छैन तर घरदैलोमा २५ जना मात्रै जान र कुनै पनि बाजागाजा वा तामझाम नदेखाउन भनिएको छ ।

सामाजिक सञ्जालबाट निर्वाचनलाई प्रभाव पार्ने, होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण राख्ने उम्मेदवार र नेताकार्यकर्ताको निगरानी गर्ने बारेमा आयोगले सामाजिक सञ्जाल फेसबुकका प्रतिनिधिसँग हिजो छलफल गरेको छ ।

निर्वाचनको समयमा फेसबुकबाट हुन सक्ने सम्भावित अवाञ्छित क्रियाकलाप रोक्ने सम्बन्धमा छलफल केन्द्रित थियो । फेसबुक कम्पनी मेटाको प्रतिनिधमण्डलले निर्वाचन प्रक्रियाको समयमा फेसबुकमार्फत हुने तथ्यहीन, भ्रामक एवं घृणायुक्त सामग्री रोक्न सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

मतादाताले सामाजिक सञ्जाल प्रयोग गर्दासमेत आचारसंहिताको पालना गर्नुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आयोगले सामाजिक सञ्जालभित्र एसएमएस, फेसबुक, मेसेञ्जर, भाइबर, ट्वीटर, यूट्यूब, इन्स्टाग्राम लगायतका माध्यमलाई उल्लेख गरेको छ ।

आचारसंहिताविपरीत सामाजिक सञ्जालमा सामग्री राख्ने, शेयर गर्ने लगायतका गतिविधि गरेमा आयोगले सुरुमा सचेत बनाउने, दोहो¥याए कानुनी उपचार खोज्ने र अन्तिममा कारबाही गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *