राजनीति

राजु गुरुङको उम्मेदवारी जोगिएपछि रुपन्देही–२ मा बन्यो यस्तो माहोल (भिडियो रिपोर्टसहित)

२०७९ असोज ३१ गते २१:४९
राजु गुरुङको उम्मेदवारी जोगिएपछि रुपन्देही–२ मा बन्यो यस्तो माहोल (भिडियो रिपोर्टसहित)

३१ असोज २०७९ रुपन्देही । रुपन्देही क्षेत्र नम्वर २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी सदर भएसँगै गठबन्धनका नेता कार्यकर्ता उत्साहित भएका छन् ।

यो क्षेत्रमा उम्मेदवार नै नहुने अवस्थाबाट जोगिएपछि गठबन्धनका दलहरु चुनावी रणनीतिका लागि सलबलाउन थालेका हुन् ।

रुपन्देही क्षेत्र नम्वर २ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएपछि सत्तारुढ दलहरु चुनावी प्रचारमा जुट्न थालेका छन् । उम्मेदवारी कायम भए पनि गुरुङलाई यो चुनाव जित्न त्यति सजिलो भने छैन । रुपन्देही– २ मा नेकपा एकीकृत समाजवादीको मतभार निकै कम छ । त्यसमाथि गुरुङसँग संसदीय चुनाव लडेको अनुभवसमेत छैन ।

यस हिसाबले पनि गुरुङ गठबन्धन साझेदार दलहरूको भर पर्नुपर्ने अवस्था छ । गत वैशाख ३० गतेको स्थानीय तह चुनावमा एकीकृत समाजवादीले यो क्षेत्रमा पर्ने २३ वटा वडामध्ये बुटवलको एउटा वडामा मात्र जित निकालेको थियो । गठबन्धनका नेपाली काँग्रेस, माओबादी केन्द्र, लोसपा र राष्ट्रिय जनमोर्चाको सबै भोट पाएमा भने गुरुङलाई सजिलो हुनेछ ।

रुपन्देहीको क्षेत्र नं २ बाट २०६४, २०७० र २०७४ सालको चुनावमा लगातार जितेर ह्याट्रिक गरेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग गुरुङको प्रतिस्प्रर्धा हुने छ ।

निर्वाचन अधिकृतले खारेज गरिदिएको गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले अल्पकालीन आदेश मार्फत जोगाइदिएपछि गठबन्धनका दलहरु अहिले चुनावी रणनीति बनाउन जुटेका छन् ।

एमाले उम्मेदवार पौडेल पनि आफ्नो पक्षमा माहोल तताउन ब्यस्त हुनुहुन्छ । उहाँलाई राप्रपाको साथ छ ।

गत स्थानीय तहको चुनावमा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारहरूले कुल १४७१ मत मात्रै पाएका थिए । यहाँ गठबन्धनको कुल मत २८ हजार ६९८ छ । नेकपा एमालेले रुपन्देही– २ का २३ वडामा पाएको मत ३३ हजार १८७ छ ।

२०७४ सालमा एमाले उम्मेदवार पौडेलले ४४ हजार ९ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका युवराज गिरीले २१ हजार ९४५ मत ल्याउनु भएको थियो । रुपन्देही– २ मा १ लाख २८ हजार ६७७ मतदाता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्