Main News

काठमाडौं क्षेत्र नम्बर १ को चुनावी चर्चा, नौलादेखी टेस्टेड उम्मेदवारसम्म मैदानमा (भिडियो रिपोर्टसहित)

२०७९ असोज ३१ गते २१:४२
काठमाडौं क्षेत्र नम्बर १ को चुनावी चर्चा, नौलादेखी टेस्टेड उम्मेदवारसम्म मैदानमा (भिडियो रिपोर्टसहित)

३१ असोज २०७९ काठमाडौं । मंसिर ४ को निर्वाचन नजिकिँदै जाँदा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा चुनावी पारो बढ्दै छ । काठमाडौं क्षेत्र नम्बर १ को चुनावी माहोल पनि राम्रै गर्माएको छ ।

२०६४ यता नेपाली कांग्रेसले जित्दै आएको काठमाडौं क्षेत्र नम्बर १ को चुनावी प्रतिस्पर्धा यसपटक रोचक हुने ठानिएको छ । कांग्रेसका प्रकाशमान सिंहले ह्याट्रिक गरिसकेको यो क्षेत्रमा यसपटक ०७४ कै निर्वाचनका निकटतम प्रतिस्पर्धी रविन्द्र मिश्र, एमालेका किरण पौडेल, स्वतन्त्र पार्टीका पुकार बम र सुशासन पार्टीका रमेश खरेल चुनावी अभियानमा कस्सिएर लागेका छन् ।

सिंह आफूले विगतमा राम्रो काम गरेको र जनताले भरोसा गरेकाले यसपटक पनि जित्ने विश्वासमा हुनुहुन्छ । केन्द्रमा प्रभाव क्षेत्रमा विकासको नारासहित सिंहले सोमबार प्रतिवद्धतापत्र सार्वजनिक गर्दै संविधानको उपलब्धिको रक्षा र कार्यान्वयनका लागि मत दिन आग्रह गर्नुभयो ।

काठमाडौंमै १ मै राप्रपाका उम्मेदवार रविन्द्र मिश्र अघिल्लो पटकको हार विर्साउने दाउमा हुनुहुन्छ । २०७४ मा साझा विवेकशिल पार्टीबाट संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा प्रतिवद्ध रहँदै चुनाव लडेका मिश्रको यसपटकको चुनावी नारा भिन्न छ ।

उहाँ राजतन्त्र फर्काउने र हिन्दु राष्ट्र पुनःस्थापनाको मूल मुद्दा बोकेको पार्टीबाट उम्मेदवार हुनुहुन्छ । लगातार यही क्षेत्रबाट सांसद बनेका सिंहको काममा प्रश्न उठाउँदै मिश्र ८ हजार मतान्तरले आफुले जित्ने दाबी गर्नुहुन्छ ।

मुख्य प्रतिष्पर्धी सिंह र मिश्रका लागि रमेश खरेल र पुकार बमको उम्मेदवारी चुनौती बन्ने देखिन्छ । यसपटक एमालेका उम्मेदवार पौडेलले एमालेको मत एकढिक्का पार्ने योजनामा छन् ।

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा देखिएको निर्वाचनको परिणामले काठमाडौं क्षेत्र नम्बर १ मा यसपटक उलटफेर हुने सम्भावनालाइ पनि नकार्न नसक्ने कतिपयको तर्क छ । तर, राजनीतिक विश्लेषक भने सिंह तुलनात्मकरूपमा सेफ जोन मै रहेको आंकलन गर्छन ।

सिंह र मिश्र बाहेक काठमाडौं १ मा यसपटक सबै नयाँ उम्मेदवार हुन् । त्यसैले पनि उनीहरुको सामथ्र्यबारे अहिले नै आँकलन गर्नसक्ने अवस्था छैन । मिश्र ०७४ मा ८ सय मतले मात्रै पराजित भएकाले उहाँलाई सिंहको मूल प्रतिस्पर्धि हुने ठानिएको छ । तर, निर्वाचनमा पूर्व आंकलन ठ्याक्कै मिल्छ भन्न नसकिने हुँदा काठमाडौं १ मा कसले बाजी मार्छ रु त्यो थाहा पाउन भने मंसिर ४ को निर्वाचनको परिणाम पर्खनैपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *