राजनीति

सागरको सुईदेखि कर्णको कलशसम्म देउवालाई चुनौती, यी हुन सुदूरपश्चिमको रोचक भिडन्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज ३१ गते ७:३६
सागरको सुईदेखि कर्णको कलशसम्म देउवालाई चुनौती, यी हुन सुदूरपश्चिमको रोचक भिडन्त (भिडियो रिपोर्टसहित)

३१ असोज २०७९ काठमाडौं । १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सातौं पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । एमाले सचिव लेखराज भट्ट, कांग्रेस सहमहामन्त्री बद्री पाण्डेसहित प्रमुख दलका शीर्षतहका नेताहरु चुनावी भिडन्तमा रहेको यो प्रदेशका ९ क्षेत्रमा रोचक भिडन्त हुँदै छ ।

नेपाली कांग्रेसका सभापित एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामै एकीकृक समाजवादी पार्टी असन्तुष्ट देखिएको छ । एकीकृत समाजवादी पार्टीले कांग्रेस बीपीका कर्ण मल्ललाई सघाउने भएपछि यहाँको भिडन्त थप रोचक हुने देखिएको छ ।

पटक पटक मुलुकको कार्यकारी प्रमुख पाएको यो प्रदेशमा पनि उम्मेदवार जनताको घर घरमा पुगिरहेका छन् । समृद्धिको सपना बाँड्दै जनताको मत लिने गरेपनि चुनावपछि जिल्ला फर्केर नआउने आरोप नेतामाथि लाग्ने गरेको छ । यो प्रदेशमा यस पटकको निर्वाचनमा हुने हेविवेट र रोचक भिडन्त हेरौं ।

डडेलधुरामा देउवालाई आफ्नाकै चुनौती
सुदूरपश्चिमबाट सबैभन्दा हेविवेट नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट २०५८ यताका सबै चुनाव जित्नुभएको छ । सातौं जित सहित छैटौं पटक मुलुकको कार्यकारी प्रमुख बन्ने दाउमा देउवा हुनुहुन्छ । अघिल्लो चुनावमा माओवादीका खगराज भट्टलाई ६ हजार ९२९ मतान्तरले हराएका देउवालाई यो पटक माओवादीको साथ छ ।

तर कुनै बेलाका आफ्ना प्रमुख स्वकिय सचिव कर्ण मल्ल नै देउवाका प्रमुख प्रतिद्वन्दी देखिनुभएको छ । मल्ललाई एमालेले साथ दिने केन्द्रीय निर्णयको स्थानीय नेताले विरोध गरेपनि उम्मेदवारी भने फिर्ता लिएको छ । यहाँ स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि घरदैलोमा हुनुहुन्छ । यहाँ कांग्रेसको २१ हजार ७३५, माओवादीको १२ हजार ८७८ र एमालेको १० हजार ४४९ मत छ ।

कैलाली- ४ मा लेखराज-बलायर भिडन्त
डोटीमा एकीकृत समाजवादीलाई छाडेसँगै कांग्रेस सुदूरपश्चिम सभापति रहेका वीरबहादुर बलायर कैलाली ४ मा झर्दा चुनावी भिडन्त रोचक हुने भएको छ । एमाले सचिव लेखराज भट्ट निर्वाचित हुँदै आएको यो क्षेत्रमा बलायसँगको भिडन्त सुदूरपश्चिमकै रोचक मानिएको छ । बलायरलाई टुरिस्ट उम्मेदवारको आरोप लागेपनि सत्ता गठबन्धनको साथ छ ।

यहाँ कांग्रेसको २२ हजार ९९७, एमाले २१ हजार ८१ र माओवादीको १० हजार १२३ मत छ । भट्ट पूर्वमाओवादी भएकाले संसदीय चुनावमा केही मत आफुलाई आउने दाबी गर्दै आउनुभएको छ ।

बाजुरामा पाण्डे-थापा भिडन्त
नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र एमालेका नेता कर्ण थापाबीच पनि सुदूरपश्चिममा अर्को हेविवेट भिडन्त हुँदै छ । एमालेले आफ्नो गढ मानेको बाजुरामा सत्ता गठबन्धनको मत पनि बलियो छ । यहाँ एमालेको २७ हजार ८४४, कांग्रेसको २४ हजार ३०४ र माओवादीको ४हजार २२९ मत छ ।

बझाङ्गमा महर-जोशी रोचक भिडन्त
कुनैबेला आफुलाई जिताउन हिडेका ऐन महरकै विरुद्धमा सत्ता गठबन्धनबाट पूर्वएमाले नेता भानुभक्त जोशी भिड्दै हुनुहुन्छ । पटक पटक सांसद र मन्त्रीसमेत भइसकेका जोशी एमाले छाडेर एकीकृत समाजवादीमा लाग्नुभएपछि महरले अवसर पाउनुभएको हो ।

एमालेको बलियो जनाधार रहेको बझाङमा सत्ता गठबन्धन एक भएपनि कांग्रेसले जोशीलाई खुलेर साथ दिने अवस्था देखिंदैन । टिकट वितरणमा नेतृत्वले गलत गरेको भन्दै असन्तुष्ट कांग्रेसका स्थानीय नेता कार्यकर्तालाई मनाउनुपर्ने चुनौती जोशीलाई छ । यहाँ एमालेको २८हजार ६११, कांग्रेसको २० हजार १६६, माओवादीको ९ हजार १४५ मत हुँदा एकीकृत समाजवादीको ७ हजार ६३२ मत मात्रै छ ।

दार्चुलामा ठगुन्ना-बडु भिडन्त
नयाँ नक्सामार्फत् भारतले हडपेको लिपुलेक, लिम्पियाधुरादेखि कालापानीसम्मको भूभाग समेटिएपछि दार्चुलाको नक्सा परिवर्तन मात्रै भएको छैन, देशको शान र शीर पनि उच्च भएको छ । पछिल्ला दुई चुनाव जितेका एमालेका गणेशसिंह ठगुन्ना र कांग्रेस नेता दिलेन्द्र बडुबीचको रोचक भिडन्त हुँदै छ । कुल ९ स्थानीय तह रहेको दार्चुलामा गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेले ५ तह जितेको छ । यहाँ एमालेको २९ हजार ३ सय ९७, कांग्रेसको २१ हजार ५ सय ५४ र माओवादीको ७ हजार ८ सय ८१ मत छ ।

अछाम- १ कुँवर-बोहोरा भिडन्त
कुनै बेलाका एमाले नेता शेरबहादुर कुँवर एकीकृत समाजवादीबाट सत्ता गठबन्धनको उम्मेदवार बन्दा माओवादी पृष्ठभुमिका एमाले नेता झपटबहादुर बोहोरासँग भिडन्त हुँदै छ । एमालेले एकल सिफारिसमा परेका भीम रावलको टिकट खोसेर बोहरा उम्मेदवार बन्दा यहाँको भिडन्त रोचक बन्दै छ । रावलले बोहोरालाइ साथ दिने बताए पनि मन खुलाइसकेको अवस्था छैन । यहाँ कांग्रेसको १६हजार ७२८ र एमालेको १६ हजार ५६७ मत छ ।

कञ्चनपुर – २ मा साउद-धामी दोस्रो भिडन्त
अघिल्लो निर्वाचनमा ८ हजार ३२७ मतान्तरले विजयी एमाले नेता नरबहादुर धामी र पराजित कांग्रेस नेता एनपी सावदबीच दोस्रो भिडन्त हुँदै छ । यो पटक सत्ता गठबन्धनको साथ हुँदा धामीविरुद्ध लड्न सहज हुने सावदको अनुमान छ । यहाँ कांग्रेसको २२हजार ३७९, एमालेको १८ हजार ८२८ र माओवादीको १२ हजार ५७२ मत छ ।

कञ्चनपुर- ३ मा पाल-लेखक भिडन्त
अघिल्लो निर्वाचनमा एमालेका दीपकप्रकाश भट्टसँग २ सय ५८ मतान्तरले पराजित कांग्रेस नेता रमेश लेखकसँग यो पटक एमालेकै निरुदेवी पाल भिड्दै हुनुहुन्छ । पार्टी सभापति देउवा निकट लेखक यो पटक अघिल्लो पराजयको चोट पुर्ने रणनीतिमा हुँदा पाल पहिलो संसदीय निर्वाचन जित्ने योजनामा हुनुहुन्छ । यहाँ कांग्रेसको २१ हजार ७७२, एमालेको १६ हजार ११७ र राप्रपाको ६ हजार ५०३ मत छ ।

कैलाली- १ मा ठुला दललाई रेशमको चुनौती
जेलमा रहेका निवर्तमान सांसद रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टी बलियो देखिएको यो क्षेत्रमा कांग्रेस र एमालेसँग त्रिपक्षीय भिडन्त हुने देखिन्छ । सत्ता गठबन्धनबाट कांग्रेसका रामजनम चौधरी, एमालेबाट टपेन्द्र रावल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीचको भिडन्त सुदूरपश्चिमको रोचक मध्येमा पर्दछ । यहाँ नागरिक उन्मुक्ति पार्टीको १७ हजार १९३, कांग्रेसको ११ हजार ६७८, एमाले १० हजार ३२२ र माओवादीको ६ हजार ९३० मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्