राजनीति

राजनीतिक दलहरु समावेशी प्रतिनिधित्व आफू अनुकुल बनाउँदै, दलित र मुस्लिम उम्मेदवार न्यून (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज २९ गते १४:२२
राजनीतिक दलहरु समावेशी प्रतिनिधित्व आफू अनुकुल बनाउँदै, दलित र मुस्लिम उम्मेदवार न्यून (भिडियो रिपोर्टसहित)

२९ असोज २०७९ काठमाडौं । मंसिर ४ गतेको प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा अधिकांश खस आर्य नै चुनावी मैदानमा छन । महिलाको उम्मेदवार १० प्रतिशत पनि उठेका छैनन भने दलित र मुस्लिम उम्मेद्वार समेत निकै कम छन ।

नेपालको संविधान र कानूनले समावेशी प्रतिनिधित्वको कल्पना गरेको छ । तर, कानूनको ‘लुप होल’लाई प्रयोग गरेर राजनीतिक दलले समावेशी प्रतिनिधित्व आफू अनुकुल बनाउने गरेका छन् । अर्थात पिछडिएको क्षेत्र, वर्ग, पछाडि पारिएको जातजातीको प्रत्यक्ष प्रतिनिधित्व कम हुने गरी दलहरुले टिकट वितरण गरेका छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ समानअनुपातमा टिकट वितरण नभएकोभन्दै दलका नेताको आलोचना पनि हुँदै आएको छ । यसपटक प्रतिनिधिसभामा स्वतन्त्रसहित २ हजार ५ सय ३१ जनाले उम्मेदवारी दिए । तिमध्ये १ सय १९ जनाले उम्मेदवारी फिर्ता लिएपछि हाल २ हजार ४ सय १२ उम्मेदवार चुनावी मैदानमा छन् । चुनावी मैदानमा होमिएकामध्ये पनि पुरुष २ हजार १ सय ८७ जना रहँदा २ सय २५ महिला मात्र उम्मेदवार बनेका छन् ।

संविधानमा के छ ?
नेपालको संविधानको धारा ४२ को उपधारा १ मा आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपाङ्ता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने उल्लेख छ ।

प्रतिनिधिसभा निर्वाचन ऐनमा समानुपातिक प्रतिनिधित्वका लागि समावेशी आधार उल्लेख गरिएको छ ।

दलित– १३.८
आदिवासी जनजाती– २८.७
खस आर्य– ३१.२
मधेसी– १५.३
थारु– ६.६
मुस्लिम– ४.४

संविधान र कानूनमा प्रतिनिधिसभाको कुल प्रतिनिधित्वमा समावेशी सिद्धान्त अवलम्बन गर्नुपर्ने व्यवस्था छ । यसैलाई टेकेर दलहरुले समानुपातिकतर्फमात्र यो क्लस्टर अनुसार प्रतिनिधित्व गराउने गरेका छन् । तर, प्रत्यक्ष निर्वाचनतर्फ दलहरुले पहुँचवाला र माथिल्लो वर्गकालाई मात्र उम्मेदवार बनाउँदै आएका छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारको प्रतिनिधित्व कस्तो छ ?
कुल उम्मेदवार – २ हजार ४ सय १२
महिला – २ सय २५ (खस आर्य महिलासहित)
खस आर्य – १ हजार १ सय २
आदिवासी जनजाती– ५ सय ३१ जना
मधेसी– ६ सय ४०
दलित– ६६
मुस्लिम –७३

यसरी हेर्दा उम्मेदवारी दिएका मध्ये अदिवासी २२ प्रतिशत, मधेसी २७ प्रतिशत, मुस्लिम ३ प्रतिशत र दलित २ प्रतिशत छन । यसरी प्रतिनिधिसभाको प्रत्यक्षतर्फ प्रदेश अनुसार उम्मेद्‍वारी दिनेमा प्रदेश १ मा आदिबासी जनजाती १३२ जना, मधेसी १०७ जना, दलित ८ जना र मुस्लिम ११ जनाले उम्मेद्वारी दिएका छन । यस्तै मधेश प्रदेशमा आदिवासी १५ जना, मधेसी ४५२ जना, दलित २ जना र मुस्लिम ३९ जनाको उम्मेद्वारी परेको छ ।

यसैगरी बागमती प्रदेशमा अदिवासी २३० जना, मधेसी ६ जना, दलित २३ जना छन । गण्डकी प्रदेशमा आदिवासी ५५ जना, दलित १२ जना, मुस्लिम ३ जनाको उम्मेदवारी छ । लुम्बिनीमा अदिवासी ४८ जना मधेसी ६४ जना, दलित १२ र मुस्लिम १९ जनाले उम्मेद्वारी दिएका छन । यसैगरी कर्णाली प्रदेशमा आदिवासी ३२ जना, दलित ४ जनाको उम्मेदवारी परेको छ । सुदूरपश्चिममा अदिवासी १९ जना, मधेसी ११ जना, दलित ५ र मुस्लिम १ जना उम्मेदवार छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्