Main News

स्वतन्त्र उम्मेदवारको जित इतिहास : २०१५ सालकै निर्वाचनमा स्वतन्त्रले जितेका थिए (भिडियो रिपोर्टसहित)

२०७९ असोज २८ गते २१:३१
स्वतन्त्र उम्मेदवारको जित इतिहास : २०१५ सालकै निर्वाचनमा स्वतन्त्रले जितेका थिए (भिडियो रिपोर्टसहित)

२८ असोज २०७९ काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा देशका प्रमुख स्थानीय तहमा स्वतन्त्र उम्मेदवार प्रमुख पदमा विजयी भए । फलस्वरुप आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्रको उभार आएको छ ।

वैशाख ३० को स्थानीय तह निर्वाचनमा पहिलोपटक स्वतन्त्र उम्मेदवार विजयी भएझैं गरियो । तर यो पहिलो पटक भने होइन, २०१५ सालकै निर्वाचनमा स्वतन्त्रले जितेका छन ।

आम निर्वाचन, २०१५
२०१५ साल फागुन ७ गते नेपालमा पहिलो पटक प्रतिनिधिसभाको निर्वाचन भयो । तत्काल कायम रहेका १०९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि फागुन ७ गतेदेखि चैत २१ गते ४५ दिनसम्म मतदान भएको थियो । यहि पहिलो निर्वाचनबाट नेपालमा स्वतन्त्रको लहर चलेको पाइन्छ । यस निर्वाचनमा २ सय ६८ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकोमा ४ जना विजयी भएका थिए ।

यो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका क्षेत्र नम्बर ७४ जुम्ला दक्षिणबाट जयबहादुर महत क्षेत्री, क्षेत्र नम्बर ७३ जुम्ला उत्तरबाट भीमप्रसाद श्रेष्ठ, क्षेत्र नम्बर ४६ असिमौद्राहाबाट रामदुलार राय यादव र क्षेत्र नम्बर ३७ सप्तरीबाट हरिलाल चौधरी विजयी हुनुभएको थियो ।

–क्षेत्र नम्बर ७४ जुम्लाबाट जयबहादुर महत क्षेत्री
–क्षेत्र नम्बर ७३ जुम्लाबाट भीमप्रसाद श्रेष्ठ
–क्षेत्र नम्बर ४६ असिमौद्राहाबाट रामदुलार राय यादव
–क्षेत्र नम्बर ३७ सप्तरीबाट हरिलाल चौधरी

२०४८ सालको संसदीय निर्वाचन
नेपालमा २०१७ सालपछि ३ दशकसम्म दलीय व्यवस्था रहेन । २०४६ जनआन्दोलनले पञ्चायती व्यवस्था फाल्यो । देशमा पुनः प्रजातन्त्र पुर्नस्थापना भयो । फलस्वरुप २०४८ सालमा संसदीय निर्वाचन भयो । तत्काल कायम रहेका २ सय ५ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा ०४८ साल वैशाख २९ गते निर्वाचन भएको थियो । नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो दल बनेको यो निर्वाचनमा २ सय १९ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । तर, यो निर्वाचनबाट सिरहा–४ बाट राजदेव गोइत, रौतहट–३ बाट गोविन्द चौधरी र बाग्लुङ–३ बाट ओमकारप्रसाद गौचनसहित तीन जना स्वतन्त्र उम्मेदवार विजयी भए ।

२०४८ सालको संसदीय निर्वाचन
–राजदेव गोइत – सिरहा क्षेत्र नम्बर ४
–गोविन्द चौधरी – रौतहट क्षेत्र नम्बर ३
–ओमकारप्रसाद गौचन – बाग्लुङ क्षेत्र नम्बर ३

आम निर्वाचन २०५१
आम निर्वाचन २०५१ नेपालको संसदीय इतिहासमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन हो । २ सय ५ सिट कायम रहेको यो निर्वाचनमा देशभरबाट ३ सय ५८ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । जसमध्ये ७ जना स्वतन्त्र उम्मेदवार विजयी भए । महोत्तरी–४ बाट शरदसिंह भण्डारी, मनाङबाट पाल्तेन गुरुङ, रुपन्देही–४ बाट ज्योतेन्द्रमोहन चौधरी, बाग्लुङ–३ बाट परी थापा, प्युठान–२ बाट नवराज सुवेदी, डोल्पाबाट मोतीप्रसाद पहाडी र बझाङ–२ बाट नरेशबहादुर सिंह स्वतन्त्र रुपमा विजयी हुनुभएको थियो ।

आम निर्वाचन २०५१
–शरदसिंह भण्डारी – महोत्तरी क्षेत्र नम्बर ४
–पाल्तेन गुरुङ – मनाङ
–ज्योतेन्द्रमोहन चौधरी – रुपन्देही क्षेत्र नम्बर ४
–परी थापा – बाग्लुङ क्षेत्र नम्बर ३
–नवराज सुवेदी – प्युठान क्षेत्र नम्बर २
–मोतीप्रसाद पहाडी – डोल्पा
–नरेशबहादुर सिंह – बझाङ क्षेत्र नम्बर २

२०६४ सालको पहिलो संविधानसभा चुनाव
१० वर्षे लामो जनयुद्धपछि माओवादी मुलधारको राजनीतिमा फर्कियो । विस्तृत शान्ति सम्झौता भएपछि २०६४ मा नेपालमा पहिलो संविधानसभाको चुनाव गर्ने बाटो खुल्यो । २०६४ साल चैत २८ गते नेपालमा नै पहिलो पटक संविधानसभाको निर्वाचन भयो । यो निर्वाचनमा ६ सय १ सिटका लागि विभिन्न राजनीतिक दलबाहेक ८ सय १६ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका थिए । स्वतन्त्र रुपमा उम्मेदवारी दिनेको संख्या उल्लेख्य रहे पनि २ जना मात्रै विजयी भए । रौतहट–१ बाट बबन सिंह र सप्तरी–५ बाट सदरुल मिया हक स्वतन्त्रबाट निर्वाचित हुनुभयो ।

–बबन सिंह – रौतहट क्षेत्र नम्बर १
–सदरुल मिया हक – सप्तरी क्षेत्र नम्बर ५

दोस्रो संविधानसभा निर्वाचन २०७०
२०७० सालमा नेपालमा पुनः संविधानसभा निर्वाचन भयो । संविधानसभाको दोस्रो पटकको निर्वाचनमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारी पर्यो । यो निर्वाचनमा एक हजार एक सय १५ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । जसमध्ये दुई जना मात्रै निर्वाचित भए । यो निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु महोत्तरी–४ बाट चन्देश्वर झा र कपिलवस्तु–२ बाट अहतर कमाल मुसलमान विजयी हुनुभएको थियो ।

संविधानसभा निर्वाचन २०७०
–चन्द्रेश्वर झा – महोत्तरी क्षेत्र नम्बर ४
–अतहर कमाल मुसलमान – कपिलवस्तु क्षेत्र नम्बर २

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४
२०७२ को संविधानको परिकल्पना अनुसार देशमा संघीयता लागूभएपछि भएको पहिलो निर्वाचन हो, प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ । २०७० सालसम्मको निर्वाचनमा प्रत्येक पछिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी बढ्दै गएको पाइन्छ । तर, २०७४ मा भने स्वतन्त्र उम्मेदवारको संख्या घटेको पाइन्छ । यो निर्वाचनमा ४ सय ९२ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । जसमध्ये एक जना मात्रै विजयी भए । यो निर्वाचनमा हुम्ला–१ बाट स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा निर्वाचित हुनुभयो ।

यसबीचमा २०५६ सालमा भएको प्रत्यक्ष निर्वाचनमा स्वतन्त्र उम्मेदवारले बाजी मार्न सकेनन् । २०५६ मा सम्पन्न संसदीय निर्वाचनमा पनि देशभरबाट ६३३ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो । उनीहरु मध्ये कोही पनि विजयी भएनन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि ८ सय ७६ जनाले उम्मेदवारी दिएका छन् । ति मध्ये कति जना निर्वाचित होलान्, त्यसका लागि भने मंसिर ४ सम्म कुर्नुपर्छ । तर, स्वतन्त्रको उम्मेदवारीको अनुपातमा विजयी हुनेको संख्या निक्कै कम रहेको नजिर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *