राजनीति

दीपक मनाङेहरुसामु किन बन्दैछन् राजनीतिक दलहरु निरिह ? (भिडियो रिपोर्टसहित)

२०७९ असोज २८ गते १४:५२
दीपक मनाङेहरुसामु किन बन्दैछन् राजनीतिक दलहरु निरिह ? (भिडियो रिपोर्टसहित)

२८ असोज २०७९ कास्की । गुण्डागर्दी पृष्ठभूमि हुँदै राजनीतिक छवि बनाएका राजीव गुरुङ उर्फ दीपक मनाङे मंसिर ४ को निर्वाचनमा मनाङ १ खबाट निर्विरोध भइसकेका छन् ।

कुनै पनि राजनीतिक दलले मनाङेविरुद्ध उम्मेदवार नउठाउँदा उनी निर्विरोध भए । प्रतिनिधिसभाका उम्मेदवारलाई मनाङेले सहयोग गर्ने अपेक्षा ठूला राजनीतिक दलले गर्दा मनाङेको सांसद यात्राले पुनः निरन्तरता पाएको छ ।

गण्डकी प्रदेशसभामा नाटकीय भूमिका खेलेर वैकल्पिक सरकार गठनमा सहयोग गरेका दीपक मनाङे हरेक राजनीतिक दलका लागि निर्विकल्प पात्र बन्न पुगेका छन् । त्यसैले त गण्डकी प्रदेशसभामा गत चुनावमा निर्वाचित भएका व्यक्तिलाई टिकट नदिएरै भएपनि राजनीतिक दलले मनाङेलाई पुनः निर्वाचित गराएका छन् ।

कर्मचारीलाई कुटपिट गर्नेदेखि मन्त्री हुँदा देखाएको रवैयाले समेत मनाङेको जीतलाई कुनै असर गरेन । बरु निर्वाचन हुनु अगावै उनी निर्विरोध बन्न पुगे । मनाङेको समर्थनमा दलहरूले मनाङको क्षेत्र नम्बर १ खमा उम्मेदवार उठाएनन् ।

पार्टीभित्रै धेरै आकांक्षी भएपनि स्वतन्त्र उम्मेदवार मनाङेलाई नै समर्थन गरे । विश्लेषकका नजरमा मनाङे स्वतन्त्र उम्मेदवार बनेपनि दलहरू नै उसलाई जिताउन ललायित भएको विश्लेषण गर्छन् ।

हुन पनि मनाङेका जीतमा राजनीतिक दलले आफ्नो स्वार्थ देखेका छन् । एक प्रतिनिधिसभा क्षेत्र रहेको मनाङमा एमालेले पाल्देन छोपाङ गुरुङ र कांग्रेसले टेकप्रसाद गुरुङलाई उमेदवार बनाएको छ । यी दुईमध्ये कसलाई चुनाव जिताउने भन्ने निर्णय मनाङेको हातमा छ । त्यसैले पनि दल उसलाई जिताएर आफ्नो उम्मेदवारको विजय सुनिश्चित गर्न चाहान्छ ।

भोलि नतिजा जसको पक्षमा आएपनि मनाङे अब पाँच वर्षका लागि गण्डकीको प्रदेश सांसद बने । गएको पाँच वर्षमा जस्तै यदी राजनीतिमा उथलपुथल भए गण्डकीमा मनाङे पुनः निर्णायक व्यक्ति बन्ने छन् ।

गुण्डा पृष्ठभूमिबाट उदाएर सांसद हुँदै मन्त्री बनेका मनाङे राजनीतिक दलका लागि निर्विकल्प पात्र बन्दा मनाङे सधैँ लाभमा रहीरहने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्