Main News

वाङ्मय शताब्दी पुरुष जोशीको आईसीयूमा उपचार हुँदै, कस्तो छ स्वास्थ्य अवस्था ? (भिडियो रिपोर्टसहित)

२०७९ असोज २४ गते २१:०९
वाङ्मय शताब्दी पुरुष जोशीको आईसीयूमा उपचार हुँदै, कस्तो छ स्वास्थ्य अवस्था ? (भिडियो रिपोर्टसहित)

२४ असोज २०७९ काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको किष्ट मेडिकल कलेजको आईसीयुमा उपचार भइरहेको छ । डेंगु संक्रमणबाट स्वास्थ्य अवस्था जटिल बनेपछि जोशीलाई आईसीयुमा सारिएको हो । असोज ७ गते इमर्जेन्सी वार्डमा भर्ना भएका जोशीको पछिल्लो समय अवस्था जटिल भएको छ ।

नेपाली कला, संस्कृति तथा इतिहासको क्षेत्रमा सक्रिय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी थलिनुभएको तीन हप्ता हुनै लाग्यो । एक शताब्दीदेखि आफूलाई सक्रिय राखिरहेका जोशी पछिल्लो समय चक्रसंवरको पौभाचित्र बनाउन व्यस्त हुनुहुन्थ्यो ।

लोक चित्रकारको नेतृत्वमा करिब पाँच महिनादेखि बनाउन थालेको यो चित्र पुरा हुने क्रममा रहँदा जोशीलाई विभिन्न संक्रमणले गाँज्दै लग्यो । असोज ७ गते ललितपुरको किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएका जोशीलाई आइतबार आईसीयूमा सारिएको छ । डेंगु संक्रमित जोशीको अवस्था जटिल देखिएको छ ।

मुटु र प्रोष्टेटको समस्या देखिएका १०३ वर्षीय जोशीलाई पछिल्लो समय युरिन इन्फेक्सन र छातीमा निमोनिया पनि देखिएको छ । विधागत विशेषज्ञको प्रत्यक्ष निगरानीमा जोशीको उपचार भइरहेको र पहिलो दिनको तुलनामा सोमबार केही सुधार देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा कुरुवा बसिरहेका जोशीका जेठा छोरा अनुजराज जोशी बाबुको अवस्थाप्रति चिन्तित हुनुहुन्छ ।

किष्ट अस्पतालले जोशी र उहाँकी श्रीमती राधादेवी जोशीको उपचारको जिम्मा लिएको छ । यसो त सरकारले पनि जोशीको उपचारमा एक जना नर्स खटाउने निर्णय गरिसकेको छ । वि.सं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका जोशी अस्पताल भर्न हुनुअघिसम्म वयस्क नागरिक जस्तै आफ्नो दैनिकीमा व्यस्त हुनुहुन्थ्यो । जोशी साहित्य लेखनसँगै संस्कृति र परम्पराको जगेर्ना अभियानमा सक्रिय हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *