Main News

प्रत्यक्ष उम्मेदवारी दिएकाविरुद्ध आज उजुरी दिन सकिने

हिमालय टिभी
२०७९ असोज २४ गते ९:२७
प्रत्यक्ष उम्मेदवारी दिएकाविरुद्ध आज उजुरी दिन सकिने

२४ असोज २०७९ काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभातर्फ प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूविरुद्ध आज उजुरी दिन सकिने भएको छ ।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा अन्तर्गत देशभरबाट १९ सय ३७ पुरुष र १ सय ९१ महिला गरी कूल २१ सय २८ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । प्रत्यक्षतर्फका लागि हिजो उम्मेदवारी दिने मिति तोकिएको थियो ।

प्रदेशसभातर्फ २६ सय पुरुष, २ सय ४४ महिला र १ अन्य गरी २८ सय ४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

हालैका दिनमा अविरल वर्षा, बाढी पहिरोलगायतका विपदजन्य घटनाका कारण कतिपय स्थानमा आवतजावतमा समेत कठिनाइ भएका कारण सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न नसक्ने उम्मेदवारहरूलाई सम्बन्धित दलले उम्मेदवार मनोनयन गरेको औपचारिक पत्र, प्रतिनिधि मुकरर गरिएको पत्रलगायत आवश्यक कागजात आयोग तथा आयोगअन्तर्गतका निर्वाचन कार्यालयले बुझी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *