यस्तो समस्यामा राष्ट्रिय हृदय केन्द्रको जनकपुरधाम शाखा (भिडियो रिपोर्टसहित)
१८ असोज २०७९ काठमाडौं । काठमाडौँस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मधेश तथा यस क्षेत्रको बिरामीको चाप बढन थालेपछि केन्द्रको शाखा जनकपुरधाममै सञ्चालनमा ल्याइयो । तर शाखाको स्तरोन्नति र विस्तारमा सरकार मौन भएपछि शाखा सञ्चालन चुनौतीपूर्ण बन्दै गएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल संगै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुरधाम शाखा सञ्चालनमा ल्याइएको छ ।
काठमाडौंस्थित केन्द्रीय अस्पतालमा बिरामीको चाप बढदै जाँदा ओपिडी र फलोअप गर्ने बिरामी जनकपुरधाममै सेवा लिन सक्ने र विस्तारै शाखालाई विस्तार गर्ने योजना अनुसार २०७५ साल माघ १ गते शाखाले सेवा शुभारम्भ गर्यो । तर, शाखाले ओपिडि जाँच, प्याथोलोजी, इको, इसिजी सहितका समान्य जाँच बाहेक अन्य सेवा विस्तार गर्न सकेको छैन ।
मुटुको समस्या भएर आपतकालीन रूपमा आउने बिरामीलाई शाखामा भर्ना गर्ने न त बेड छ न आइसीयु सहितका सेवाका लागि चाहिने अन्य पुर्वाधार नै बनेको छ । बिरामीलाई अन्यत्र रिफर गर्नुको विकल्प छैन । २०७६ साल श्रावन ९ गते तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवबाट उदघाटन गरिएकै क्याथ ल्याव सहितको भवन निर्माणका लागि काम सुरु हुने बताएपनि कसैले चासो नदिएको अस्पताल प्रशासनको गुनासो छ ।
दुईजना कार्डियोलोजिष्ट र दुईजना मेडिकल अफिसरसहित करिव २० जनाको टोलीबाट अस्पताल चलिरहेको छ । उपचार गर्न नपाएकोमा सेवाग्राहीको गुनासो बढ्दै गएको छ । जनकपुरधामका अगुवाहरु अहिलेको युगमा प्रदेशको राजधानी जस्तो ठाउँमा समेत हृदय जस्तो संवेदनशील रोगको भरपर्दो उपचार स्थल हुन सक्नु दुःखद् रहेको बताउँछन् ।
मुटुको समस्या सहित आपतकालिन रूपमा आउने बिरामीलाई प्रादेशिक अस्पतालकै हालको आपतकालिन र आइसियुमा भर्ना गर्नुपर्ने अवस्था छ ।
प्रतिक्रिया