Main News

काठमाडौं महानगरको काम भद्रगोल (भिडियो रिपोर्टसहित)

२०७९ असोज १२ गते २१:१५
काठमाडौं महानगरको काम भद्रगोल (भिडियो रिपोर्टसहित)

१२ असोज २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने कामलाई निरन्तरता दिएको छ । झट्ट हेर्दा महानगरपालिकाले रफ्तारमा काम गरेको जस्तो लागेपनि परिणाम भद्रगोल भएको छ । डोजर अभियान मात्रै नभएर महानगरपालिकाले बिना तयारी सुरु गरेको अरु अभियान र काम एक पछि अर्को गर्दै असफलतातर्फ उन्मुख छ ।

काठमाडौं महानगरपालिको काठमाडौंमा भएका खाल्डा खुल्डी पुर्न इन्जिनियर र प्राविधिकसहित पूर्वाधार एम्बुलेन्स सेवा सुरु गर्यो । महानगरले सुरु गरेको हटलाइन सेवामा आएका गुनासो सम्बोधन गर्न केहीदिन सडकका खाल्डा–खुल्डी पुर्ने काम पनि सुरु भयो तर अहिले काठमाडौंका खाल्डाखुल्डी जस्ताका तस्तै छन् ।

फोहोर व्यवस्थापन
काठमाडौं महानगरपालिकामा नयाँ नेतृत्व आएसंगै गत साउन १ गतेबाट फोहोरलाई वर्गीकरण गर्ने भनियो । फोहोरलाई स्रोतबाटै वर्गीकरण गर्ने र महानगरपालिकाले बार अनुसार कुहिने र नकुहिने फोहोलाई उठाउने भन्दै सार्वजनिक सूचना जारी गर्यो । सूचनासँगै घरमै फोहोरलाई छुट्टा छुट्टै नराखेको अवस्थामा हरेक पटक पाँच सय जरिवाना गरिने चेतावनी पनि दिएको थियो । नगरबासीले फोहोरलाई छुट्टा छुट्टै राख्न सुरु गरिसकेका थिए तर फोहोरलाई वर्गीकरण गर्ने नीतिबाट तत्कालका लागि भन्दै महानगर आफैं पछि हट्यो ।

फुटपाथ व्यवस्थापन
काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रबाट फुटपाथ व्यवसायीलाई हटायो । फुटपाथ व्यवसायीले गरिखानको लागि विकल्प दिएर मात्रै आफूहरुलाई हटाउन माग गरेपनि महानगरपालिको स्थानीय व्यवसायी, नेपाल प्रहरी र नगरप्रहरीको सहयोगमा उनीहरुलाई बलजफति हटायो । फुटपाथ व्यवसायीलाई हटाइदा सडक पेटी पैदलयात्रुका लागि भएको र नियमकानुन बराबर हुने भनिएकोमा अहिले उक्त फुटपाथमा दुई पांग्रे सवारी साधन पार्किङ गर्ने थलोका रुपमा रुपान्तरण भएको छ ।

अनधिकृत संरचना भत्काउने अभियान
पार्किङका लागि नक्सा पास गरेर बेसमेन्ट बनाइएका तर अन्य प्रयोजनमा प्रयोग भएका वेसमेन्टमा महानगरको डोजर चल्यो । तर आज ति बेसमेन्टमा पनि पार्किङमा प्रयोग हुन सकेका छैनन् भने कतिपय वेसमेन्ट लथालिङ्ग अवस्थामा छन् ।

टुकुचा अतिक्रमण
टुकुचा खोज्न महानगरले अभियान नै थाल्यो । हात्तिसार क्षेत्रमा डोजर चलाएर टुकुचा उत्खनन् सुरु गरेको महानगरपालिका यहाँबाट पनि पछि हटेको छ । अदालतको आदेश र पुरात्व विभागको चासोपछि महानगरपालिका टुकुचा उत्खननको अभियानलाई अलपत्र छाडेर अन्य काममा केन्द्रित भएको छ । अहिले टुकुचा उत्खननका कारण जयनेपाल हल अघिको फुटपाथ नै भासिँएको छ ।

सार्वजनिकस्थलमा धुम्रपान निषेध
काठमाडौं महानगरपालिकामा असोज १ गते देखि सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने भनेपनि यो कार्यान्वयन हुन सकेको छैन् । सार्वजनिक स्थलमा धुम्रपान गरे कस्ले अनुगमन गर्ने र कारबाही कसले गर्ने भन्ने स्पष्ट छैन् ।

यी केही उदाहरण मात्र हुन्, महानगरका अरु काम पनि अलपत्रै छ । केही काम गरेको देखाउने उद्देश्य भएपनि विना योजना सुरु गरेका कारण महानगरको कामले परिणाम नदिएको कतिपयको विश्लेषण छ ।

महानगरपालिकाको नेतृत्वको इमान्दार प्रयास भएपनि परिणाम नआउँदासम्म कुनै पनि काम व्यर्थ हुन जाने भएकाले पहिले योजनावद्ध ढंगले काम गर्न विज्ञको सुझाव छ ।

महानगरपालिकाको नयाँ नेतृत्व आएको चार पाँच महिना मात्रै अवधि भएको छ । सिँगो कार्यकाल बांकी नै भएकाले हतार र हतासमा भन्दा पर्याप्त समय लिएर काम गर्नु नै राम्रो हुने विज्ञको भनाइ छ ।

प्रतिक्रिया

One thought on “काठमाडौं महानगरको काम भद्रगोल (भिडियो रिपोर्टसहित)

  1. काम शुरू त भएको छ नी हैन र, शुरूवाती अवस्थामा हर काम भद्रगोल नै लाग्छन गर्दै ग़एपछि फ़त्ते हुने हो र फ़त्ते अंतमा नै हुन्छ शुरूवातमा हुंदैन। आज सम्म कसैले शुरू सम्म गरेनन कमसेकम नयां मेयरले काम त थाले अड़ीक भएर। अरु त नगरपालीकाका तिनै दुई नंबरीबाट कमीशन खाएर मोटाएर खाएर मोटाएर कार्यकाल सकेर गए, हैन र

Leave a Reply

Your email address will not be published. Required fields are marked *