राजनीति

भदौ २२ गतेभित्र संसद उम्मेदवार सिफारिस गर्न एमालेले दियो निर्देशन

समानुपातिकमा एक पटक मात्र अवसर, पछिल्लो चुनाव हार्नेहरुलाई उम्मेदवार नबनाइने

हिमालय टिभी
२०७९ भदौ ११ गते १७:००
भदौ २२ गतेभित्र संसद उम्मेदवार सिफारिस गर्न एमालेले दियो निर्देशन

११ भदौ २०७९ काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फ एक पटक अवसर पाएकालाई आमरुपमा नदोहोर्‍याउन निर्देशन दिएको छ ।

केन्द्रीय कमिटी बैठकले मातहतको कमिटीहरुलाई उम्मेदवार छनौटको मापदण्ड सर्कुलर गर्ने निर्णय गरेको छ । एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न तल्ला कमिटीहरुलाई भदौ २२ गतेसम्मको समय दिइएको छ ।

बैठकले समानुपातिक प्रतिनिधित्वमा एकपटक अवसर पाइसकेकालाई नदोहोर्‍याउन भन्दै स्थानीय तहमा निर्वाचित भएकाहरुलाई पनि राजीनामा गराएर उम्मेदवार सिफारिस नगर्न मातहतलाई निर्देशन दिएको हो ।

त्यस्तै, पछिल्लो पटक भएका कुनै पनि निर्वाचनमा पराजितलाई उम्मेदवार नबनाउने पनि एमाले केन्द्रीय कमिटी बैठकको निश्कर्ष छ ।

प्रत्यक्षतर्फको उम्मेदवारका लागि पनि जित्ने सम्भावना भएका र संसदीय प्रणालीमा महत्वपूर्ण भूमिका खेल्न सक्ने व्यक्तिलाई प्राथमिकतामा राख्ने म्याण्डेड बनाइएको छ ।

बैठकले प्रदेश वा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्ने, जिल्ला र प्रदेशले त्यसमा थप सुझाव दिएर केन्द्रमा पठाउने विधि पनि तय गरेको छ । उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी केन्द्रलाई नै दिइएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको एकल उम्मेदवारकारुपमा अघि सार्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्