राजनीति

नागरिकता विधेयक जस्ताको तस्तै फिर्ता पठाउने गठबन्धनको निर्णयप्रति ओलीको आपत्ति

हिमालय टिभी
२०७९ भदौ १ गते १८:१०
नागरिकता विधेयक जस्ताको तस्तै फिर्ता पठाउने गठबन्धनको निर्णयप्रति ओलीको आपत्ति

१ भदौ २०७९ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारुढ गठबन्धनको निर्णयप्रति आपत्ति जनाउनु भएको छ ।

अध्यक्ष ओलीले संसदले एक पटक विचार गरोस् भनेर राष्ट्रपतिले पठाएको सो गम्भिर महत्वको विधेयकलाई संसद बाहिरै बसेर सत्तारुढ गठबन्धनले सो निर्णय गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

आज ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले संसदमा सो विधेयकको विषयमा बहससमेत गर्न नदिएर सत्तारुढ गठबन्धनले ‘आफूलाई खोपडी नभएको मसले’को रुपमा प्रस्तुत गरेको जिकीर समेत गर्नु भयो ।

संसदीय अभ्यासको समेत ख्यालै नगरी सत्तारुढ गठबन्धनले आफ्नो बहुमतको तागत देखाइदिने भन्दै सो विधेयक राष्ट्रपतिलाई जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेको अध्यक्ष ओलीको भनाइ थियो ।

सत्तारुढ गठबन्धनको सो निर्णयमा बहुमतको घमण्ड चढेको उल्लेख गर्दै उहाँले त्यस्ताहरुको हातमा देश चल्न नसक्ने बताउनुभयो ।

अध्यक्ष ओलीले कांग्रेस लोकतान्त्रिक पार्टी नरहेको दावी समेत गर्नुभयो । प्रचण्डको कार्यकर्ता बनेर हिँडिरहेको कांग्रेस आचरण, नीति र व्यवहार सबै हिसावले लोकतान्त्रिक हुनै नसक्ने उहाँको तर्क थियो ।

ओलीले विगतमा पनि कांग्रेसले देशविरोधी कार्य गर्दै आएको र पछिल्लो समय यसले लोकतान्त्रिक आचरण र व्यवहारसमेत गुमाएको आरोप लगाउनु भयो । उहाँले माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी भएकाले त्यसको बारेमा टिप्पणी गरिरहन आवश्यक नै नरहेको दोहोर्‍याउनु भयो ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले मुलुकलाई बर्बाद पार्ने भएकाले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने पटकपटक दोहोर्‍याउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्