राजनीति

संखुवासभा: गौतमलाई एमालेको गढ जोगाउने चुनौती, भत्काउन उम्मेदवार खोज्दै गठबन्धन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ३१ गते २१:३३
संखुवासभा: गौतमलाई एमालेको गढ जोगाउने  चुनौती, भत्काउन उम्मेदवार खोज्दै गठबन्धन (भिडियो रिपोर्टसहित)

३१ साउन २०७९ काठमाडौं । नेकपा एमालेले आफ्नो किल्ला दाबी गर्दै आएको संखुवासभामा यो पटकको चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ ।

संविधानसभा निर्वाचनमा दुई क्षेत्र रहेको संखुवासभामा अहिले एउटा मात्रै संघीय चुनावी क्षेत्र छ । नेकपा एमालेले हालका सांसद राजेन्द्र गौतमलाई नै उम्मेदवार बनाउने तयारी गरिरहँदा सत्ता गठबन्धनबाट कांग्रेस नेता दीपक खड्कासँगै माओवादी र एकीकृत समाजवादीका नेताहरुले पनि यो जिल्लामा दाबी गरेका छन् । सत्ता गठबन्धनका दलहरु एक भएर चुनाव लड्दा एमालेलाई आफ्नो गढ जोगाउन सकस पर्ने देखिएको छ ।

नेपाली कांग्रेसका दीपक खड्कालाई १ हजार १ सय ३० मत अन्तरले पराजित गर्दै २०७४ को संघीय चुनाव जितेका एमाले नेता राजेन्द्रप्रसाद गौतम लगातार दोस्रो जितका लागि चुनावी तयारीमा छन् । मुलुक संघीय प्रणालीमा गएसँगै एक मात्रै निर्वाचन क्षेत्र कायम भएको संखुवासभालाई नेकपा एमालेले आफ्नो पुरानो गढका रुपमा दावा गर्दै आएको छ ।

एक मात्र क्षेत्र कायमपछिको पहिलो चुनावमा गौतमले ३२ हजार ७ सय ६९ मत ल्याउँदा खड्काले ३१ हजार ६ सय ३९ मत पाउनुभएको थियो । हिमाली जिल्ला संखुवासभामामा तत्कालीन क्षेत्र नम्वर २ मा दोस्रो संविधानसभा २०७० मा पनि खड्का र गौतमबीच भिडन्त भएको थियो । त्यसबेला भने पाँच सय ७९ मत अन्तरले खड्काले बाजी मार्नुभएको थियो । त्यसबेला यो निर्वाचन क्षेत्रमा कांग्रेसको पहिलो जित थियो ।

२०४८ र ०५१ सालका आम निर्वाचनमा एमालेले दुवै क्षेत्रमा जितेको थियो । २०५६ मा क्षेत्र नम्बर १ मा कांग्रेस र २ मा एमालेले जितेका थिए । २०६४ को पहिलो संविधानसभा चुनावमा क्षेत्र नम्बर १ मा माओवादी र २ मा एमालेले जितेका थिए । दुबै क्षेत्रलाइ गाभेर एउटै क्षेत्र बनाएर २०७४ सालमा संसदीय निर्वाचन भएको थियो ।

संघीय निर्वाचन २०७४ को मत परिणाम
राजेन्द्र गौतम, नेकपा एमाले ३२ हजार ७ सय ६९ मत
दीपक खड्का, नेपाली कांग्रेस ३१ हजार ६ सय ३९ मत
मतान्तरः १ हजार १ सय ३० मत

कुल दश पालिका रहेको संखुवासभामा ६ पालिका जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ भने एमाले ४ पालिकामा सीमित भएको छ। अन्य दलहरु निल भएका छन्। खाँदबारी नगरपालिका, चिचिला गाउँपालिका, पाँचखपन नगरपालिका, मकालु गाउँपालिका, सभापोखरी गाउँपालिका र सिलिचोङ गाउँपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको छ।

चैनपुर नगरपालिका, धर्मदेवी नगरपालिका, भोटखोला गाउँपालिका र मादी नगरपालिकाको नेतृत्व एमालेले जित हात पारेको छ। पालिका प्रमुख कांग्रेसले बढी जिते पनि वडागत आधारमा एमालेको मत बढी देखिएको छ ।

स्थानीय तह निर्वाचन २०७९ को वडागत मत परिणाम
एमाले ३२९११
कांग्रेस ३०८४९
माओवादी ७१२२
एकीकृत समाजवादी ११०१
जसपा ४७१

गत स्थानीय तहको मत परिणामका आधारमा एमाले कांग्रेसभन्दा २ हजार ६२ मतले अगाडी देखिन्छ । तर माओवादी, एकीकृत समाजवादी र जसपाको समेत मत गठबन्धनमा प्राप्त हुने भएपछि कांग्रेस बलियो हुने देखिन्छ । एमालेको केन्द्रीय नेतृत्वमा स्थापित हुँदै गरेका गौतमलाई जिल्लाबाट अनुमोदन हुन गठबन्धन बाधक बन्न सक्ने देखिँदा कांग्रेसका तर्फबाट टिकट दाबी गरिरहेका खड्कालाई पनि गठबन्धनका सबै दललाई रिझाउनुपर्ने बाध्यता छ । अझ गठबन्धनमा माओवादीले समेत सिट दाबी गरिरहेकाले संखुवासभामा गौतमसँग भिड्ने नेताको टुंगो लाग्न हम्मे पर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्