नागरिकता संशोधन विधेयक– मधेसमा द्वन्द्वको खतरा ! (भिडियो रिपोर्टसहित)
३० साउन २०७९ काठमाडौं । संघीय संसदका दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको नागरिकता संशोधन विधयेक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाइदिएपछि मधेसमा विरोध भएको छ । मधेशमा मधेस केन्द्रित दल मात्र नभई सत्तारुढ दलसमेत विरोधमा उत्रिएका छन् ।
संघीय सरकारविरुद्ध मधेस सरकार आफै आन्दोलन र धर्नामा रहेका बेला मधेशमा प्रदर्शन सुरु भएको छ । पुनर्विचार गर्न आवयश्क रहेको भन्दै राष्ट्रपति कार्यालयले दुईवटै सदनबाट पारित नागरिकता संशोधन विद्येयक संसदमै फिर्ता गरेपछि मधेस आन्दोलित भएको हो ।
संघीय निर्वाचन सम्मुख आइपुगेको अवस्थामा मधेस केन्द्रित दलसँगै सत्ता गठबन्धन दलसमेत राष्ट्रपतिको कदमको विरोधमा उत्रिएका छन् ।
सोमबार बिहानै कांग्रेसले पूर्वपश्चिम राजमार्ग जोड्ने धनुषाको ढल्केवरमा केहीबेर चक्काजाम गर्दै राष्ट्रपतिविरुद्व प्रदर्शन गरेका छन् ।
सोमबार नै जनकपुरधाम पुगेका जसपाका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विद्येयक फिर्ता गरेर चुनावका बेला देशलाई द्वन्द्वमा धकेल्ने काम भएको बताउनु भएको छ ।
विद्येयकमा नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने कुरा मात्र उल्लेख रहे पनि राष्ट्रपतिले यो कदम चाल्नु शंकास्पद रहेको यादवको आरोप छ ।
राष्ट्रपतिको कदमविरुद्व जसपाले मसाल जुलुस निकालेको छ भने लोसपाले विरोध र्याली गरेको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पनि सिरहास्थित गोलबजारमा राजमार्ग अवरुद्ध गरेको छ ।
मधेस सरकारले प्रहरी समायोजनको विषयलाई लिएर धर्ना गरिरहेको समयमा राष्ट्रपतिले नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरेर संसदमै फिर्ता पठाएपछि अन्य दल पनि विरोधमा उत्रिँदा मधेसमा फेरि द्वन्द्व शुरु हुने देखिएको छ ।
प्रतिक्रिया