राजनीति

पाँचथरमा चुनाव : वसन्त नेम्बाङ र भिष्मराज आङदेम्बे को कति बलियो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २८ गते १६:१२
पाँचथरमा चुनाव : वसन्त नेम्बाङ र भिष्मराज आङदेम्बे को कति बलियो ? (भिडियो रिपोर्टसहित)

२८ साउन २०७९ काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको प्रदेश एकको पहाडी जिल्ला पाँचथरमा यो पटक पनि हेभिवेट नेताबीच प्रतिस्पर्धा हुँदैछ । कुल ८ स्थानीय तह रहेको यो जिल्लामा कांग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्बे र एमाले नेता वसन्तकुमार नेम्बाङबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित एमाले नेता वसन्तकुमार नेम्बाङ एमालेमा प्राप्त जिम्मेवारी पुरा गर्ने नेताका रुपमा परिचित हुनुहुन्छ । कांग्रेसबाट पराजित भिष्मराज आङदेम्बेको राजनीतिक पहिचान पनि यो पटक फेरिएको छ ।

नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाका अति निकट मानिने आङदम्बे कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित हुनुभयो । दुबै नेताले राष्ट्रिय पहिचान बनाएका छन् ।

गत संघीय चुनावमा एमालेका नेम्बाङले फराकिलो मत अन्तरले कांग्रेसका आङदेम्बेलाई पराजत गर्नुभएको थियो। नेम्बाङले ३८ हजार ६ सय १६ मत पाउँदा आङदेम्बेले २८ हजार ३५ मत प्राप्त गर्नुभएको थियो । दुई नेताबीच १० हजार ६ सय १६ मतान्तर थियो ।

२०७४ को संघीय निर्वाचनको मत परिणाम
वसन्तकुमार नेम्बाङ ३८ हजार ६ सय १६ मत
भिष्मराज आङदेम्बे २८ हजार ३५ मत
मतान्तर १० हजार ६ सय १६

तर गत स्थानीय तहको परिणाम हेर्ने हो भने एमालेका लागि असहज देखिएको छ । जिल्लाका ८ पालिकामध्ये ६ पालिका जित्दै कांग्रेस पहिलो दल बनेको छ भने एमाले र माओवादीले एक–एक पालिका जितेका छन् । कांग्रेसले कुम्मायक, तुम्मवेवा, फालेलुङ, फाल्गुनन्द र हिलिहाङ गाउँपालिकासहित फिदिम नगरपालिका जितेको छ ।

त्यस्तै, माओवादीले मिक्लाजुङ गाउँपालिका र एमाले याङवरक गाउँपालिकामा निर्वाचित भएको छ । वडागत मतका आधारमा एमालेको सबैभन्दा बढी मत भए पनि सत्ता गठबन्धनका दलहरुको मत एमालेको भन्दा साढे १२ हजार बढी छ ।

२०७९ को स्थानीय तहको वडागत मत परिणाम
नेकपा एमाले– ३०, ९५८
नेपाली कांग्रेस– २५, ०६५
नेकपा माओवादी केन्द्र– ११, ८०८
जनता समाजवादी पार्टी– २,६४३
नेकपा एकीकृत समाजवादी– २,१६१
राष्ट्रिय प्रजातन्त्र पार्टी– १, ९०९

आगामी चुनावमा एमालेबाट नेम्बाङ नै उम्मेदवार हुने निश्चित जस्तै छ भने कांग्रेसबाट आङदम्बेले दाबी गर्नुभएको छ । तर सत्ता गठबन्धनका अरु दलले पनि पाँचथरमा दाबी गर्ने सम्भावना छ ।

नेम्बाङ २०४८ र २०५६ र २०७४ मा सांसद भइसक्नुभएको छ भने केपी शर्मा ओलीका पालामा भौतिक पूर्वाधार मन्त्री हुँदा गरेको कामले लोकप्रिय बन्नुभएको थियो ।

आङदेम्बे पनि संविधानसभामा निर्वाचित हुनुभएको थियो । उहाँ पनि मतदाताबीच लोकप्रिय मानिनुहुन्छ । यदी यी दुई नेताले नै टिकट पाए भए यो जिल्लामा आगामी चुनाव निकै रोचक हुने सहजै अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्