Main News

सार्वजनिक यातायातमा मनलाग्दी भाडा असुली, अनुगमन गर्न संसदीय समितिको निर्देशन

हिमालय टिभी
२०७९ साउन २३ गते १५:११
सार्वजनिक यातायातमा मनलाग्दी भाडा असुली, अनुगमन गर्न संसदीय समितिको निर्देशन

२३ साउन २०७९ काठमाडौं । संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिनुभएको हो ।

समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताउनुभयो । उहाँले सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घरटहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिनुभयो ।

सभापति खड्काले देशका मुख्य सडकहरुमा बाढीपहिरोका कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि निर्देशन दिनुभयो । उहाँले राष्ट्रिय गौरव तथा अन्य राष्ट्रियस्तरका सडकहरुको निर्माण तथा स्तरोन्नतिको काममा भइरहेको ढिलासुस्ती तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखी निर्माणाधिन नारायणघाट– मुग्लिन र मुग्लिन–पोखरा सडक स्तरोन्नतिको कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो ।

सभापति खड्काले वातावरण, प्रविधिमैत्री र गुणस्तरीय विकास निर्माणसहित दीर्घकालिन समाधान सहितको विकास निर्माणको विषयमा तत्काल अध्ययन गरी कानून ल्याउन सरकारलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *