संसद बैठक राखेर राज्य दोहन गरिएको राष्ट्रियसभा सदस्य देवकोटाको आरोप (भिडियो रिपोर्टसहित)

२३ साउन २०७९ काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधि सभाको बैठक राखेर राज्य दोहन गरिएको बताउनुभएको छ ।
आज राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेपछि सांसदहरुको कार्यकाल समाप्त भएको बताउनुभयो ।
उहाँले कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राखेर राज्य दोहन नगर्न आग्रह गर्नुभयो । संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने उल्लेख गरेको भन्दै उहाँले संविधान अनुसार सभामुख र उपसभामुख बाहेकका सांसदहरुको कार्यकाल समाप्त भयो भनेर बुझ्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने भनेपछि सभामुख र उपसभामुखबाहेकका सांसदहरुको कार्यकाल समाप्त भयो भनेर बुझ्न पनि जरुरी छ । कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राख्न पाइँदैन । पसल खोल्न पाइँदैन । राज्यको दोहन गर्ने काम बन्द होस् ।’
उहाँले निर्वाचनको मिति घोषणा गरेपछि सरकार, प्रतिनिधि सभा र प्रदेशसभा काम चलाउ भएकाले दीर्घकालिन महत्व राख्ने र प्रभाव पार्ने कुनै निर्णय नगर्न तथा नीति तथा कानून नबनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय सभा सदस्य देवकोटाले राजनीतिलाई दुहुनो गाई ठान्ने घातक प्रवृत्ति रहेको टिप्पणी गर्दै यस्तो प्रवृत्ति अन्त्यका लागि लगातार दुई पटक निर्वाचनमा विजयी भएकाहरुलाई तेस्रो पटक टिकट नदिन प्रमुख राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया