राजनीति

सत्ता गठबनन्धनलाई सिट बाँडफाँटमा यस्तो चुनौती (भिडियो रिपोर्टसहित)

२०७९ साउन २० गते १७:४८
सत्ता गठबनन्धनलाई सिट बाँडफाँटमा यस्तो चुनौती (भिडियो रिपोर्टसहित)

२० साउन २०७९ काठमाडौं । सत्ता गठबन्धनका ५ दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि तालमेल गरेरै जाने निर्णय गरेका छन् । गठबनन्धको निर्णय गरिसकेका दलहरुलाई अबको चुनौती भने सिट बाँडफाँटमा देखिएको छ ।

स्थानीय तह निर्वाचनपछिको समीक्षामा नेकपा माओवादी केन्द्रले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले धेरै फाइदा लिएको निस्कर्ष निकालेको थियो ।
नेकपा एकीकृत समाजवादीले त स्थानीय तह निर्वाचनमा कांग्रेसले धेरै फाइदा लिएको मात्र होइन आफ्नो फाइदाका लागि गठबन्धनका अन्य दलमाथि घात नै गरेको आरोप लगाएको थियो ।

तर स्थानीय तह निर्वाचनमा आफूहरुलाई धक्का लागेको भन्दा धेरै नेकपा एमालेलाई कमजोर बनाइएको खुसी यी दलमा थियो । यहीबीचमा नेपालमा वाम एकता, वाम गठबन्धन र वाम मोर्चाबारे चर्चा सुरु भयो ।

नेपालमा वाम गठबन्धनको चर्चा र नेताहरुको घरदैलोसमेत जारी रहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आएर थप घरदैलो गरेपछि अबको चुनावी समीकरण फेरिन्छ कि भन्ने अनुमान थियो । तर यो अनुमानविपरीत हालको सत्ता गठबन्धनका दलहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि तालमेल गरेर जाने निर्णयमा पुगेका छन् ।

प्रतिनिधिभसभा र प्रदेशसभा निर्वाचनको मिति तोकिएलगत्तै सत्तारुढ ५ दलका शीर्ष नेता बैठक बसेर आगामी निर्वाचनमा पनि तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।

दलहरु चुनावी तालमेलका लागि तयार भएर विगतमा सोचेको जस्तो वाम गठबन्धनको आशंकालाई कमजोर पारे पनि अब मुख्य चुनौती भने सिट बाँडफाँटमा देखिएको छ । प्रतिनिधिसभाका १ सय ६५ सिट र प्रदेशसभाका ३ सय ३० सिटमा ५ दलबीच हुने भागबण्डाले सबैलाई सन्तुष्टि दिन सक्ने अवस्थामा मात्रै गठबन्धनका दलहरुले आज गरेको निर्णय कायम रहने देखिन्छ ।

गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले आगामी निर्वाचनमा ६० प्रतिसत सिट आफ्नो भागमा राख्ने कोशिस गरिरहेको छ । पार्टीभित्रको ठूलो तप्का कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन नै नगर्ने भनेर लागिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका सभापित शेरबहादुर देउवालाई त्यो पंक्तिको मुखमा बुझो लगाउनसमेत ठूलो संख्यामा सिट कांग्रेसको भागमा राख्नुपर्ने चुनौती छ ।

अर्कोतर्फ विगतमा एमालेसँग जोडिँदा ४० प्रतिशत भाग पाएको माओ‌वादी त्यही अनुपातको दाबेदार देखिएको छ । एमालेलाई कमजोर बनाउने शक्ति आफूमात्र रहेको दाबी गरिरहेका एकीकृत समाजवादी स्थानीय तह निर्वाचनमै अपमान भएको दुखेसो गरिरहेको सन्दर्भ थियो ।

त्यसबाहेक जनता समाजवादी पार्टी र विगतमा एक मात्र सिट रहेका राष्ट्रिय जनमोर्चालाई पनि सिट मिलाएर चुनाव लड्न गठबन्धनका दलहरुलाई फलामको च्यूरा चपाउनु सरह देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्