Main News

अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

२०७९ साउन १५ गते २१:१९
अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

१५ साउन २०७९ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज साँझ पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री शर्माले आजै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको अभियोग लागेपछि उहाँले गत असार २२ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै राजीनामा दिनुभएको थियो । आज मात्रै नेकपा (माओवादी केन्द्र)का तर्फबाट अर्थमन्त्रीमा शर्मालाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरेको थियो । सोही आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

पदभार ग्रहणपछि आयोजित कार्यक्रममा उहाँले विश्वव्यापी रुपमा अर्थतन्त्रमा समस्या देखिएको र त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको भन्दै आन्तरिक रुपमा सबलीकरण गर्न लागिपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो अर्थतन्त्रको सबलीकरण गर्न लागिपर्छु ।” मन्त्री शर्माले त्यसका लागि आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो अर्थमन्त्र सबलीकरण गर्नुपर्छ । त्यसका लागि आयात प्रतिस्थापन, निर्यात वृद्धि तथा विदेशी मुद्राको सञ्चिति बढाउनुपर्छ ।” उहाँले गत आवको बजेट कार्यान्वयनमा देखापरेका कमी कमजोरीलाई समीक्षा गर्दै चालु आवको बजेट कार्यान्वयनमा लागिपर्ने बताउनुभयो ।

उहाँले बजेट कार्यान्वयनका लागि कर्मचारीतन्त्रले सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको समेत उल्लेख गर्नुभयो । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराई करको दरमा हेरफेर गरेको आरोप लागे पनि नैतिकता देखाउँदै उहाँले राजीनामा गर्नुभएको थियो । उहाँले आफू छानबिनका लागि तयार रहेको बताउनुभएको थियो । प्रतिनिधिसभाले गठन गरेको समितिले उहाँलाई शुक्रबार निर्दोष रहेको बताएको थियो ।

पदभार ग्रहणपछि अर्थमन्त्री शर्माले निक्षेप बीमाको सीमा बढाउने निर्णय गर्नुभएको थियो । चालु आवको बजेटमा रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग कार्यक्रमको दायरा विस्तार गरिन लागेको हो । नयाँ व्यवस्थाअनुसार अब निक्षेप बीमाको विद्यमान सीमा रु तीन लाखबाट बढेर पाँच लाख बराबर हुनेछ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

मन्त्री शर्माले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटालगायत उच्चपदस्थ पदाधिकारी र अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *