Main News

असारे विकासको विकृति, काठमाडौंमै पक्की सडक खनेर हिलाम्मे बनाउँदै जनप्रतिनिधि (भिडियो रिपोर्टसहित)

२०७९ असार ३२ गते २०:४०
असारे विकासको विकृति, काठमाडौंमै पक्की सडक खनेर हिलाम्मे बनाउँदै जनप्रतिनिधि (भिडियो रिपोर्टसहित)

३२ असार २०७९ काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३० को पञ्चकुमारी मार्गमा असारको अन्तिममा आएर बल्ल ढल निर्माण शुरु गरिएको छ ।

हिँउदभरि कानमा तेल हालेर बस्ने जब मध्य बर्खाको समय भयो तब पक्की सडक भत्काएर ढल निर्माणको काम गर्ने जनप्रतिनिधिको रवैयाले स्थानीय रुष्ट छन् । ढल निर्माणका लागि आएको ३० लाख रुपैयाँ बजेट खर्च नभए फ्रिज हुने भएपछि असार साउनमै भए पनि काम शुरु गरिएको जनप्रतिनिधिको भनाइ छ ।

धमाधम पक्की ढलान गरिएको सडक भत्काउँदै गरिएको यो दृश्य काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० अन्तर्गत पर्ने मैतीदेवी स्थित पञ्चकुमारी मार्ग हो । असारको अन्तिममा आएर पक्की सडक भत्काएर यहाँ नयाँ ढल निर्माणको काम भैरहेको छ ।

कति बेला झरी पर्छ र ढल भरिन्छ भन्ने कुनै टुंगो हुँदैन् । बनाउँदै गरेको ढल भरिएर अर्को समस्या थपिन सक्छ भने गरेको काम पनि गुणस्तरहीन हुने अवस्था रहन्छ । तर बागमती प्रदेश सरकारबाट आएको सांसद विकास कार्यक्रमको ३० लाख रुपैयाँ बजेट सक्नकै लागि खेत रोपाईँ गरेजसरी ढल निर्माणको काम भैरहेको छ । पक्की सडक भत्काएरपछि ढल गन्हाएर हिँड्डुल गर्न पनि समस्या भएको छ ।

ढल निर्माणमा ढिलाइ भैरहेको र गरेको काम पनि गुणस्तरीय नभएको स्थानीयको गुनासो छ । माथिल्लो भागको ढलमाथि हुनुपर्नेमा तल्लो भागको ढल माथि परेकाले माटो थुप्रिन जाने र छिटो ढल पुरिने जोखिम भएको स्थानीय बताउँछन् । साथै मंगलको तल्लो भाग ढल राखिएको भाग भन्दा तल हुनुपर्नेमा समानान्तर रेखामा परेकाले पनि थप समस्या आउन सक्ने स्थानीयको भनाइ छ ।

काठमाडौं महानगरपालिकामा सडकहरुको निर्माणमा ढिलासुस्ती भएपछि आम नागरिकले पाउनुसम्म सास्ती पाएका थिए । बल्लतल्ल विस्तार भएका सडकको निर्माण भएपछि केही राहत भएको थियो । पछिल्लो समय कहिले बिजुलीको तार भूमिगत गर्ने नाममा त कहिले खानेपानीको पाइप बिछ्याउने, ढल निर्माण गर्ने नाममा धमाधम पक्की सडक भत्काउने गरिएको छ । हरेक कामका लागि पटकपटक सडक भत्काउने र खर्च बढाउने काम गर्नुभन्दा सबै काम एकीकृत रुपमा गर्न पनि स्थानीयको सुझाव छ ।

काम शुरु नभएको भए बजेट खर्च नहुने र खर्च नभएपछि कमिशन पनि नआउने भएपछि जनप्रतिनिधिहरुको जोडबलमा असारमा काम भएको स्थानीयको गुनासो छ । जनप्रतिनिधिहरुले नचाँहिने कुरामा प्राथमिकता दिनेभन्दा आवश्यक कामलाई प्राथमिकताका साथ छिटो सम्पन्न गर्नुपर्ने दायित्ववोध गर्नुपर्ने स्थानीयको भनाइ छ ।

काठमाडौं महानगरपालिकाले भएका खाल्डा पनि पुर्ने भन्दै पूर्वाधार एम्बुलेन्स शुरु गरेको तर आफ्नो वडामा भने भएको पक्की सडक पनि भत्काएर लथालिंग पारेपछि स्थानीय रुष्ट छन् । प्रदेश सरकारको बजेट भएपनि खर्च गर्ने र रेखदेख गर्ने जिम्मेवारी काठमाडौं महानगरपालिका र स्थानीय वडाको भएको वडा अध्यक्ष दलबहादुर कार्कीको भनाइ छ ।

१० दिनअघि ढल निर्माणका लागि सडक खन्न शुरु भएपनि झण्डै १ सय ३० मिटर लम्बाईको ढल निर्माणमा एक तिहाई पनि काम भएको छैन।

पुरानो ढल सानो आकारको भएकाले ढल भरिने र माथिल्लो भागमा डुबानको समस्या आएका कारण ठूलो आकारको ढल राख्न लागिएको वडा कार्यालयको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *