राजनीति

कांग्रेस बैठक: केन्द्रीय सदस्यहरु नै विराेधमा उत्रिएपछि देउवालाई तनाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २८ गते २१:१७
कांग्रेस बैठक: केन्द्रीय सदस्यहरु नै विराेधमा उत्रिएपछि देउवालाई तनाव (भिडियो रिपोर्टसहित)

२८ असार २०७९ काठमाडौं । नेपाली कांग्रेसको जारी बैठक सभापति शेरबहादुर देउवाका लागि पेचिलो बनेको छ । उहाँकै समूहका केन्द्रीय सदस्यहरु उहाँको विरोधमा उत्रिएपछि कांग्रेस बैठक रोचक बनेको छ ।

सत्ताघटक मुख्य दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । स्थानीय तह निर्वाचनको समीक्षालगायतका विषयमा छलफल गर्न बसेको बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीको आलोचना भएको छ ।

सभापति देउवा स्थानीय तह निर्वाचनमा गठबन्धनका अन्य दलका विषयमा सकारात्मक देखिँदा देउवा समूहकै नेताहरु भने माओवादी र एकीकृत समाजवादी इमान्दार नदेखिएको भन्दै रुष्ट देखिए । देउवा प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धनकै पक्षमा हुनुहुन्छ । तर, देउवा निकटसहित इतर समूहका केन्द्रीय सदस्यहरुले गठबन्धनबिना एक्लै निर्वाचनमा जाने तयारी गर्नुपर्ने धारणा राखेका छन् ।

बैठकमा देउवा समूहकै केन्द्रीय सदस्य गुरु बरालले गठबन्धन गर्न नहुने बताउँदा देउवाले बिचैमा रोकेर एक्लै चुनावको तयारी गर्नु भन्दै जवाफ दिनुभएको थियो ।

देउवाकै विश्वासपात्र मानिने वीरबहादुर बलायरले समेत आउँदो निर्वाचनमा गठबन्धन गर्न नहुने राय राख्नुभएको थियो । त्यस्तै कतिपयले त स्थानीय निर्वाचनमा गठबन्धन गर्नु नै गलत भएको भन्दै सभापति देउवाको निर्णयमा प्रश्न उठाएका छन् । कांग्रेसको बैठक शुरु नहुँदै भातृ संस्थाहरुलाई पूर्णता दिन माग गर्दै नारावाजी भयो । भातृ संस्थाका विषयमा देउवा निकट केन्द्रीय सदस्यहरुले बैठकमा पनि असन्तुष्टि जनाएका छन् ।

बाहिर विद्यार्थी र तरुणको नाराबाजीबीच बैठकमा प्रवेश गरेका देउवाले बैठकमा पनि आफ्नै गुटका केन्द्रीय सदस्यहरुको साथ पाउन छाडेका छन् । प्रदेश सभापतिहरूले कांग्रेसको प्रस्तावित मर्यादाक्रममै आपत्ति जनाएका छन् । उनीहरूले आफूहरुलाई केन्द्रीय सभापतिपछि राख्नुपर्ने माग गरेका छन । अझै केही दिन चल्ने ठानिएको बैठकले के निर्णय गर्ला ? चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्