राजनीति

देउवा सरकारमा मन्त्री परिवर्तनको लहर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २० गते २०:५०
देउवा सरकारमा मन्त्री परिवर्तनको लहर (भिडियो रिपोर्टसहित)

२० असार २०७९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । उहाँले सोमबार जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको हो । अहिले देउवा नेतृत्वको सरकारमा मन्त्री परिवर्तनको लहर नै छ ।

२०७८ असार २९ गते कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बन्नुभयो । देउवाले सत्ताको नेतृत्व सम्हालेको १ वर्ष पुग्नै लाग्दा मन्त्री परिवर्तनको लहर चलेको छ । असार महिना लागेपछि मात्रै दुई पटक मन्त्री हेरफेर भइसकेको छ ।

पहिले जम्बो मन्त्रिपरिषद् बनाएको आरोप खेपेका देउवा अब भने धेरै मन्त्री बनाउने प्रधानमन्त्रीका रुपमा दर्ज हुने बाटोमा देखिनुभएको छ । सत्ताघटक दलहरुले मन्त्री हेरफेर गरेपछि देउवा नेतृत्वको सरकारमा अहिले मन्त्री हेरेफेरको क्रम जारी छ । अझै यो क्रम बढ्न सक्छ ।

असार १३ गते
सत्तागठबन्धनको दल नेकपा एकीकृत समाजवादीले सरकारमा ३ जना नयाँ मन्त्री पठायो । जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नुभयो । भवानीप्रसाद खापुङलाई राज्यमन्त्रीबाट स्वास्थ्य मन्त्री बनाइयो ।

असार २० गते
अर्को सत्ताघटक जनता समाजवादी पार्टीले पनि सोमबार सरकारमा नयाँ मन्त्री पठाएको छ । जसपाबाट मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपन्छी विकास, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादवले वनमन्त्रीका रुपमा सोमबारबाटै कार्यभार सम्हालिसक्नुभएको छ ।

जसपाले महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको हो । पार्टीभित्रको विवाद मिलाउन र पार्टीभित्रैका आफ्ना विरोधी तह लगाउन सत्ताघटकका दलहरुले मन्त्री हेरफेर गरिरहेका छन् । जसले गर्दा सरकारको कसले कुन मन्त्रालय सम्हालिरहेको छ भन्ने भेउ पाउनै मुस्किल हुन थालेको छ । यो प्रवृत्तिले राजनीतिक स्थिरता नहुने जानकारहरु बताउँछन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली संविधान विरुद्ध हिँडेको सुशासन दिन नसकेको र सरकारले जनअपेक्षाअनुरुप काम नगरेको भन्दै सत्तामा पुगेको अहिलेको गठबन्धन त्यही बाटोमा अग्रसर देखिएको छ ।

राजनीतिक स्थिरताको नारा दिएको सरकारका मन्त्रीहरु नै अस्थिरताको शिकार बनिरहेका छन् । सबैलाई मन्त्री बनाउने फोहोरी खेलमा सत्ताघटक चुर्लुम्म डुब्दा सरकारप्रति नागरिकको विश्वास धर्मराउँदै गएको छ । यसबारे सत्ताको नेतृत्व गरिरहेका दल र सत्ताघटकले कहिले बुझ्ने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्