राजनीति

निर्वाचन आयोगमा १ सय १३ वैधानिक दल, कम्युनिष्ट नामका किन यति धेरै ? (भिडियो रिपोर्टसहित)

२०७९ असार १९ गते १८:१६
निर्वाचन आयोगमा १ सय १३ वैधानिक दल, कम्युनिष्ट नामका किन यति धेरै ? (भिडियो रिपोर्टसहित)

१९ असार २०७९ काठमाडौं । भर्खरै मात्र पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । योसँगै निर्वाचन आयोगमा दर्ता भएर वैधानिकता पाएका दलको संख्या १ सय १३ पुगेको छ ।

निर्वाचन आयोगको तथ्याङ्क हेर्ने हो भने आयोगमा दर्ता भएकाहरुमध्ये धेरैजसो दल लामो समय कम्युनिष्ट राजनीतिमा लागेका र कम्युनिष्ट पृष्ठभूमिका व्यक्तिहरुले स्थापना गरेको पाइएको छ ।

सञ्चारकर्मी रवी लामिछानले निर्वाचन आयोगमा दल दर्ता गरेलगत्तै कम्युनिष्ट नेता बामदेव गौतमले पनि नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नाममा राजनीतिक दल खोल्ने घोषणा गर्नुभयो । आफ्नै श्रीमती, छोरासहित विभिन्न व्यक्तिहरुलाई केन्द्रीय कमिटीमा राखेर स्थापना गरेको गौतम नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता हुनुअगावै विभाजन भएको छ ।

विगतमा गौतमको राजनीतिक पृष्ठभूमि हेर्दा उहाँ कुनै पनि कम्युनिष्ट नामधारी दलमा आवद्ध हुन सक्नुहुन्थ्यो । तर, आफैंले नेतृत्व गर्ने हुटहुटीका कारण नेकपाको फुर्को झुण्ड्याएर उहाँ नेता बन्ने प्रयासमा हुनुहुन्छ । नेपालमा नेकपा नाम राखेर पार्टी खोल्ने होड जस्तै छ ।

निर्वाचन आयोगको रेकर्ड हेर्दा धेरै दलहरुमा नेकपाको फुर्को झण्डिएको पाइन्छ । नेकपा नै नलेखिएका केही दल कम्युनिष्ट विचारधाराकै रहेका पनि छन् । गौतम मात्रै नभएर पार्टीमा स–सानो विवाद वा मनमुटाव हुँदा पनि पार्टी छाड्ने, पार्टीबाट निस्कासन गर्ने र नेतृत्व नपाए अर्को दल स्थापना गरिहाल्ने रोग कम्युनिष्ट राजनीतिमा लागेका नेताहरुमा देखिन्छ ।

निर्वाचन आयोगको तथ्याङ्कले पनि यो दाबीलाई नै बल पुर्‍याउँछ । आयोगमा हालसम्म एक सय १३ राजनीतिक दल दर्ता छन् । त्यसमध्ये बहुसंख्यक दलको नाममा कतै न कतै नेपाल कम्युनिष्ट पार्टी जोडिएको छ । नाममै नभएपनि हँसिया हथौडा लोगो राखेर झण्डा प्रयोग गर्नेहरु पनि छन् ।

माओवादीकै नामबाट पनि निर्वाचन आयोगमा धेरै दल दर्ता छन् । आयोगमा दर्ता भएका दलहरुमध्ये केही उदाहरण हेरौं–

–नेकपा (एमाले)
–नेकपा (माओवादी केन्द्र)
–नेकपा (माले)
–नेकपा (मार्क्सवादी)
–नेकपा
–नेकपा (राष्ट्रवादी)
–माओवादी कम्युनिष्ट पार्टी, नेपाल
–नेकपा मार्क्सवादी (पुष्पलाल)
–माओवादी जनमुक्ति पार्टी नेपाल
–नेकपा (लोकतान्त्रिक)
–नेकपा परिवर्तन
–नेकपा (एकीकृत समाजवादी)
–नेकपा (समाजवादी)
–नेकपा (गौरवशाली)
–नेकपा (माओवादी समाजवादी)

उल्लेखित नाम बाहेक पनि राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, वैज्ञानिक समाजवादी दल लगायतका दर्जनौं दल यस्ता छन् जो आफूलाई कम्युनिष्ट विचारधारासँग नजिक रहेको दाबी गर्छन् । आफूलाई कम्युनिष्ट भन्ने यस्ता दलहरु पनि निर्वाचन आयोगमा दर्ता छन् ।

अघि नेकपा जोडेर पछि लोकतान्त्रिक, समाजवादी इत्यादी विशेषण जोडिएको छ । लामो समय कम्युनिष्ट राजनीतिमा लागेका नेताहरुलाई पार्टी स्थापना गर्दा जसरी पनि नेकपा नाम चाहिने मनोविज्ञान देखिन्छ । आयोगमा नाम जुधेपछि नेकपाको विवाद सर्वोच्च अदालत सम्म पुगेको थियो ।

पछि अदालतले ऋषि कट्टेलको नेतृत्वको नेकपाले मान्यता पाएको थियो भने एकीकरण पछि नेकपा बनाएका माओवादी केन्द्र र नेकपा एमाले आआफ्नो बाटो लागेका थिए । निर्वाचन आयोगमा धेरै दल दर्ता भएका कारण नाम र चुनाव चिन्ह जुध्ने समस्या पनि बेला बेला देखिँने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्