Main News

प्राङ्गारिक मलको प्रदेशमा रासायनिक मलको भर (भिडियो रिपोर्टसहित)

२०७९ असार १५ गते २०:४६
प्राङ्गारिक मलको प्रदेशमा रासायनिक मलको भर (भिडियो रिपोर्टसहित)

१५ असार २०७९ सुर्खेत । तीन वर्ष पहिले कर्णाली प्रदेश सरकारले प्राङ्गारिक मलको प्रदेश भनेर घोषणा गरेपनि कर्णालीका किसान अझै रासायनिक मलमा भर पर्दै आएका छन् ।

तुलनात्मक रुपमा धेरै उत्पादन हुने र बालीमा रोग पनि नलाग्ने हुँदा किसानको प्राथमिकता रासायनिक मलतर्फ छ । तर, हरेक वर्ष नेपालमा रासायनिक मल अभाव हुँदै आएपनि प्राङ्गारिक मल प्रयोगमा किसान आकर्षित हुन सकेका छैनन् ।

रासायनिक मलले क्षणिक रुपमा उत्पादन राम्रो दिने भएपनि यसले कालान्तरमा माटोको उर्वराशक्तिमा कमि ल्याउँछ । यति मात्र होइन, रासायनिक मल प्रयोग अत्यधिक भएमा मानिस, जीवजन्तु, बोट–वनस्पति सबैलाई हानी पुर्‍याउँछ । वैज्ञानिक रुपमा पुष्टि भएपनि सरकारले यो तथ्यलाई आम किसानसम्म पुर्‍याउन नसक्दा किसानले प्राङ्गारिक मल प्रयोग गर्दैनन् ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार नेपालमा हरेक वर्ष १५ देखि २० अर्ब रुपैयाँ बराबरको रासायनिक मल आयात हुन्छ । वर्षेनी अभाव हुने थाहा हुँदाहुँदै पनि किसानको भर रासायनिक मलमै छ ।

कर्णालीमा २ लाख ९९ हजार ३ सय ३९ हेक्टर जमिन रहेकोमा हाल २ लाख १६ हजार ८ सय ८० हेक्टर जमिनमा खेति हुन्छ । यसमध्ये हालसम्म कर्णालीका सुर्खेत र दैलेखबाहेक अन्य जिल्लामा ७० प्रतिशत भन्दा बढी जमिनमा रोपाई भइसकेको छ ।

किसानले खेतमा रोपाई गरिसकेपनि पर्याप्त मात्रामा मल पाउन भने सकेका छैनन् । सरकारले रासायनिक मलको विकल्प मानिएको प्राङ्गारिक मललाई प्रवर्द्धन गर्न नसक्दा यो अवस्था आएको बुझाई नागरिकको पनि छ ।

पछिल्लो समय किसानहरुले प्राङ्गारिक मलको प्रयोग गर्न कम गरे सँगै खेतीयोग्य जमिनमा ह्रास आउने गरेको छ । कतिपय किसानले धेरै गाईवस्तु पाल्न छाडिसकेको र प्राङगारिक मलको प्रयोग गर्न झन्झटिलो मान्ने हुँदा पनि रासायनिक मलको प्रयोग बढेको छ ।

कर्णालीका जुम्ला, हुम्ला, डोल्पा र मुगुमा हाल पनि रासायनिक मलको साटो प्राङ्गारिक मल नै प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *