आज पनि देशका विभिन्न भागमा मौसम बदली रहने

६ असार २०७९ काठमाडौं । आज पनि देशका विभिन्न भागमा मौसम बदली रहने भएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशको प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र अन्य भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जनाको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश १, मधेश प्रदेश, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रहने तथा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया