Main News

प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा भारी वर्षा हुने

हिमालय टिभी
२०७९ जेठ ३१ गते १०:०२
प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा भारी वर्षा हुने

३१ जेठ २०७९ काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भागमा वर्षा हुने जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

महाशाखाले हाल प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको बताएको छ । गण्डकी, बाग्मती, मधेस प्रदेश तथा प्रदेश १ का थोरै स्थानहरूमा मेग गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं. १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

प्रदेश नम्बर १ का धेरै, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश नम्बर १ तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश नम्बर १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नम्बर १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले देशभर मौसम परिवर्तन, मेघ गर्जन/चटयाङसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *