Main News

रासायनिक मलको हाहाकार, संसदमा सुनियो विरोधको यस्तो स्वर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ ३० गते १८:२३
रासायनिक मलको हाहाकार, संसदमा सुनियो विरोधको यस्तो स्वर (भिडियो रिपोर्टसहित)

३० जेठ २०७९ काठमाडौं । सांसदहरुले रासायनिक मलको हाहाकार हुनुमा सरकार दोषी रहेको आरोप लगाएका छन् ।

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्दै सांसदहरुले मल ल्याउन नसक्नु सरकारको कमजोरी रहेको बताएका हुन् । प्रतिनिधि सभाको आजको बैठकमा एमालेका सांसद विशाल भट्टराईले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७८ बमोजिम अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न बैठकको कार्यक्रम स्थगित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

भट्टराईको प्रस्ताव पास भएपछि मल अभाव सम्बन्धी जरूरी महत्वको प्रस्तावमा छलफल भएको हो । प्रस्तावको छलफलमा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले भारतीय सीमाबाट मल ल्याउने किसानलाई ज्यादती नगर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले व्यापारीहरुले कमिशन दिएर सिमाबाटै मल भित्राउने तर आफ्नै खेतमा प्रयोग गर्न किसानले मल ल्याउँदा भने ज्यादती हुने गरेको उल्लेख गर्नुभयो ।

नेकपा एमालेकी सांसद रेखा कुमारीले मल अभावको सम्बन्धमा सरकार बेखबर रहेको बताउनुभयो । उहाँले सरकारले मल उपलब्ध गराउन गम्भिरता देखाउनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले नेपालमा विगतदेखि नै रासायनिक मलको अभाव हुने गरेको उल्लेख गर्दै रासायनिक मलको उद्योग खोल्नुपर्ने बताउनुभयो । उहाँले विदेशबाट जि टु जिमार्फत् मल ल्याउनुपर्ने र विशेषगरी भारतबाट ल्याउन पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

नेकपा माओवादी केन्द्रकी सांसद रामकुमारी चौधरीले मल ल्याउनका लागि गरिने टेन्डर प्रक्रिया नै बेठिक भएको बताउँदै कानून संशोधन गरि टेन्डर प्रक्रिया फेर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले मल कारखाना खोल्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सरकारले समयमै किसानलाई मल उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले सरकारले मलको स्थायी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । स्थायी व्यवस्थापन हुन नसकेका कारण बारम्बार समस्या आएको उहाँको भनाई थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *