राजनीति

विलखबन्धमा माधव नेपाल : गठबन्धनमा पनि अर्को अपमान (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २७ गते २१:३५
विलखबन्धमा माधव नेपाल : गठबन्धनमा पनि अर्को अपमान (भिडियो रिपोर्टसहित)

२७ जेठ २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव एक साता पुग्न लागिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । नत एकीकृत समाजवादीले आफ्नो निर्णय फिर्ता नै गरेको छ नत कार्यान्वयनका लागि प्रधानमन्त्रीले चासो नै दिएका छन् ।

यसले एकीकृत समाजवादीभित्र समेत मन्त्री फेर्ने प्रस्तावले विवाद उत्पन्न गरेको छ । एकीकृत समाजवादीका शीर्ष नेताले नै मन्त्री फेर्न प्रधानमन्त्रीलाई दिएको २४ घण्टाको अल्टिमेटमसमेत अलमलमा परेको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोहोर्‍याइरहने शब्द हो, अपमान । एमालेमा रहँदासमेत अध्यक्ष नेपालले आफूलाई अपमानित गरेको अभिव्यक्ति दिनुभएको थियो । एमाले फुटाएर एकीकृत समाजवादी गठन गर्नुभएका अध्यक्ष नेपाल अहिले पनि सत्ता गठबन्धनभित्रै पनि अपमानित महशुस गर्दै आउनुभएको छ ।

स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई अपमानित नगर्न पटक–पटक चेतावनी दिँदै आएका अध्यक्ष नेपालले आफ्नो पार्टीबाट सरकारमा पठाइएका मन्त्री पनि फेर्न पाउनुभएको छैन । चार जना मन्त्री फिर्ता बोलाउँदै एक जनालाई बढुवा र अरु चार जना सिफारिस गरेपनि प्रधानमन्त्रीले अस्वीकार गरेपछि एकीकृत समाजवादीको निर्णय अलपत्र परेको छ ।

एकीकृत समाजवादीकै सम्मानित नेता झलनाथ खनालले पार्टीको निर्णय सर्वोपरी हुने भन्दै २४ घण्टाभित्र मन्त्री फेर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अल्टिमेटमसम्म दिनुभएको थियो । तर, ४८ घण्टावित्दा पनि प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका मन्त्री फेरबदल गर्नुभएको छैन । खनालले हरेक दिन जसो पार्टीको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाब दिनछाड्नुभएको छैन ।

गठबन्धन सरकारमा पार्टीले नै मन्त्री हेरफेर गर्न सक्ने प्रचलन रहेपनि अहिले एकीकृत समाजवादी गठबन्धनकै नेताहरू र आफ्नै मन्त्रीहरूबाट उपेक्षा र चेपुवामा परेपछि हिस्स परेको छ । बजेटको विषयमा संसदमा छलफल चल्दै गर्दा सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने भन्दै मन्त्रीहरुले प्रधानमन्त्री देउवासँग आग्रह गरेपछि मन्त्री बन्न खुट्टा उचालेर बसेका सांसदहरू अन्ततः चिसै पानीले नुहाउने अवस्थामा पुगेका छन् ।

नेताहरूको बोली र उनीहरूको निरीहपन पनि उदांगो बनेको छ । एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरू अहिले आफ्नो पार्टी नेतृत्व भन्दा पनि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासतिर धाउन थालेका छन् । पार्टीको निर्णयपछि मन्त्रीहरुले आपत्ति जनाउँदै निर्णय रोक्न दबाब दिएपछि प्रधानमन्त्री देउवा पछि हट्नुभयो ।

मन्त्री सिफारिस भएका आफ्ना सांसदहरुलाई विश्वस्त बनाउन अध्यक्ष नेपालले कुनै कसर बाँकी राख्नुभएको छैन । उहाँले ति सांसदहरुलाई अब छिट्टै मन्त्री हेरफेर हुने आवश्वासन दिंदै आउनुभएको छ । तर, गठबन्धनमा होस् वा पार्टीभित्रै पनि अध्यक्ष नेपालले ठोस छलफल गर्न सक्नुभएको छैन ।

पार्टीबाट सहभागी मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्तिका लागि प्रधानमन्त्रीलाई सूचीसमेत बुझाइसकेका अध्यक्ष नेपाल विलखबन्धमा पर्नुभएको छ ।

उता सामाजिक सञ्जालदेखि नेता–कार्यकर्ता, आफन्तजन र शुभेच्छुकहरूको लगातार बधाई खाँदै आएका नयाँ मन्त्रीका लागि सिफारिस भएका सांसदहरू शपथको तयारीमा बसेका थिए । तर, पाँचदलीय गठबन्धनको शीर्ष बैठकपछि तत्काल हेरफेर नगर्ने गरी परिस्थिति मोडिएपछि उनीहरू ब्याक हुनुपरेको हो । यससँगै राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न भन्ने कुरा मन्त्रीबाट लगभग खुस्किसकेका एकीकृत समाजवादीका नेताहरूको मन्त्री पद थमौतीले नै प्रष्ट हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्