Main News

कुनै बेला सञ्चालन भइसकेका विमानस्थलमा पनि अचेल उड्दैनन् जहाज (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ १८ गते २१:०५
कुनै बेला सञ्चालन भइसकेका विमानस्थलमा पनि अचेल उड्दैनन् जहाज (भिडियो रिपोर्टसहित)

१८ जेठ २०७९ काठमाडौं । मुलुकका १९ वटा विमानस्थल अहिले पनि संचालनमा आउन सकेका छैनन् ।

यो अवस्थामा सरकारले ती विमानस्थलहरु कसरी र कहिले स‌ञ्चालन गर्ने भन्दा पनि हरेक वर्ष नयाँनयाँ विमानस्थल निर्माणको घोषणा गरिरहेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बारा, सुर्खेत र उदयपुरमा विमानस्थल निर्माणको घोषणा गरेको छ ।

नेपालमा अहिले निर्माण भइरहेका, बन्द तथा सञ्चालनमा रहेका विमानस्थलको संख्या ५४ छ। त्यसमध्ये १९ वटा विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् । बागलुङ, रुकुम चौरजहारी, दार्चुला, ढोरपाटन, फाल्गुनन्द, गोरखा, गुल्मी, जिरी, काङगेलडाँडा, लाङटाङ, महेन्द्रनगर, मनाङ, डोल्पा मसिनेचौर, मेघौली, रोल्पा, स्याङबोचे, टिकापुर र कालिकोट विमानस्थल संचालनमा आउन सकेका छैनन् ।

यात्रुको संख्या कम भएको भन्दै निजी कम्पनीले सेवा संचालन नगर्दा अर्बौं लगानीमा निर्माण भएका विमानस्थल गौचरणमा परिणत भएका छन् । तर सरकारले अझै पनि देशका विभिन्न भू–भागमा विमानस्थल निर्माण गर्ने घोाषणा गर्न छाडेको छैन ।

आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, सुर्खेतको रामघाटमा प्रादेशिक र उदयपुरमा पनि विमानस्थल निर्माण कार्य अगाडी बढाउने घोषणा गरेको छ । यसका अलवा धनगढी विमानस्थलको स्तरोन्नती गरी क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्ने बजेटमा उल्लेख छ ।

यो सँगै सरकारले आन्तरिक हवाइ सेवाको विस्तार गर्न डडेलधुरा, बागलुङको बलेवा, दाङ, टारीगाउँ, टीकापुर, चौरजहारी लगायत विमानस्थलको स्तरोन्नती गर्ने घोषणा गर्दै हवाई पूर्वाधार विकासका लागि १२ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले स्तरोन्नती गर्ने घोषणा गरेका कुनै पनि विमानस्थलमा संचालनमा छैनन् ।

आन्तरिक उडानमा जहाज कम हुनु, निजी वायूसेवा कम्पनीले नाफामुखी व्यवसाय मात्र गर्नु, सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा कम्पनीले आन्तरिक उडानमा चासो नदेखाउनु जस्ता कारण स‌‌‌ञ्चालनमा आउन सक्ने विमानस्थलसमेत बन्द हुँदै गएका छन् ।

यो अवस्थामा राजनीतिक स्वार्थ र दबाबमा सरकारले हरेक वर्ष नयाँ नयाँ विमानस्थल निर्माणको घोषणा गर्दै आएको छ । यो प्रवृत्तिले राज्यकोषको दुरुपयोग बाहेक थप उपलब्धि हुने देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *