Main News

यस्तो छ नेपालमा सुर्तिजन्य पदार्थको प्रयोगको अवस्था (भिडियो रिपोर्टसहित)

२०७९ जेठ १७ गते २०:४८
यस्तो छ नेपालमा सुर्तिजन्य पदार्थको प्रयोगको अवस्था (भिडियो रिपोर्टसहित)

१७ जेठ २०७९ काठमाडौं । आज विश्व विश्व सुर्तीजन्य पदार्थरहित दिवस । सुर्तीजन्य पदार्थ त्यागौं स्वास्थ्य र वातावरण जोगाऔं भन्ने नारासहित यो दिवस मनाइएको छ । सुर्तीजन्य पदार्थरहित दिवस मनाइरहँदा नेपालमा सुर्तीजन्य पदार्थ प्रयोगको अवस्था कस्तो छ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०१३ र २०१९ मा स्टेप अप सर्भेमार्फत नेपालमा सुर्तीजन्य पदार्थको सेवन र यसको अवस्थाबारे सर्भेक्षण गरेको छ । यो सर्वेक्षणमा ७ वटा प्रदेश र हिमाल, पहाड र तराईका १५ देखि ६९ वर्षका व्यक्तिलाई समावेश गरिएको थियो ।

यो सर्वेक्षण अनुसार २०१३ मा सबै प्रकारको सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिको संख्या ३० दशमलव ८ प्रतिशत थियो । त्यसको ६ वर्षपछि २०१९ मा २८ दशमलव ९ प्रतिशतमा झर्‍यो ।

अर्थात कुनै न कुनै रुपमा ५७ लाखले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो । २०१३ देखि सुर्तीजन्य पदार्थ सेवन घटाउन सरकारी तथा गैह्रसरकारी संस्थाले धेरै काम गरेको भए पनि ६ वर्षको अवधिमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या खासै घटेको देखिँदैन ।

यो तथ्याकं अनुसार ६ वर्षको अवधिमा दुई प्रतिशतभन्दा कमले मात्रै सुर्तीजन्य पदार्थ खान छाडेका छन् । सर्वेक्षणले दैनिक धुम्रपानलगायतका धुवाँसहितको सुर्तीजन्य पदार्थको सेवन भने घटेको देखाएको छ ।

२०१३ मा धुवाँसहितको सुर्तीजन्य पदार्थ सेवन १५ दशमलव ८ प्रतिशतले गरेको देखाउँछ भने २०१९ को सर्वेक्षणमा १३ दशमलव ३ प्रतिशतले धुवाँसहितको सूर्तिजन्य पदार्थ सेवन गरेको देखाउँछ । तर पनि प्रयोगकर्ता धेरै घटेको देखिदैन ।

२०१३ मा १८ वर्षभन्दा माथिकाले मात्रै सुर्तीजन्य पदार्थ सेवन शुरु गरेको देखिन्थ्यो भने २०१९ सम्म आइपुग्दा १७ वर्षको उमेरदेखि नै सुर्तीजन्य पदार्थ सेवन शुरु गर्ने गरेको देखिन्छ । यसले किशोर अवस्थादेखिनै चुरोटलगायत सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या बढिरहेको देखाउँछ ।

सरकारले बर्सेनि सूर्तीजन्य पदार्थबाट २० अर्ब राजश्व उठाउने गरेको छ । नागरिकमा भने सूर्तीजन्य पदार्थ चुरोट, खैनी, गुट्का सेवनकै कारण मुटु रोग, क्यान्सर, स्वासप्रश्वासको समस्या देखिने गर्छ । जसका कारण नेपालमा बर्सेनि २७ हजार १ सय ३७ जनाको मृत्यु हुने गरेको छ । यसले औषत आयु घट्ने र आर्थिक भारसमेत बढ्ने गरेको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ ले सार्वजनिक स्थानमा चुरोट, बिडी, गुट्खा, काचो सूर्ती, खैनी बिक्री वितरण र सेवन गर्न रोक लगाएको छ ।

अस्पताललगायत शैक्षिक संस्थाको एक सय मिटर वरपर सूर्तीजन्य पदार्थको विक्री वितरण गर्न नपाइने ऐनमा उल्लेखछ । सुर्तीजन्य पदार्थको विक्रीवितरणमा कमी ल्याउन विभिन्न ऐन कानुन ल्याएको छ । तर ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा सुर्तीजन्य पदार्थले पारेको असर कम हुने देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *