Main News

शिक्षकहरु नै यौन दुर्व्यवहारमा ! (भिडियो रिपोर्टसहित)

२०७९ जेठ १० गते २१:०९
शिक्षकहरु नै यौन दुर्व्यवहारमा ! (भिडियो रिपोर्टसहित)

१० जेठ २०७९ काठमाडौं । गुरु अर्थात् शिक्षकलाई देवताको रुप मान्ने गरिन्छ । आदरणीय, मार्गदर्शक र सहजकर्ताका रुपमा हेरिन्छ शिक्षकलाई । तर, शिक्षकहरुले आफ्ना विद्यार्थीलाई चाँहि कसरी हेर्छन् भन्ने कुराको जवाफ भने कहालीलाग्दो छ । शिक्षकको कुकर्म र दानवररुपी व्यवहारले समग्र शैक्षिक क्षेत्र बदनाम हुँदै गएको छ ।

अभिभावकले आफ्ना सन्तानको सम्पूर्ण भविस्य शिक्षकको नाममा करार गरिदिएका हुन्छन् । शिक्षक नै विद्यार्थीका लागि मातापिता भन्दा ठूलो हो भनेर वर्षौँदेखि पढ्दै र सुन्दै आएका विद्यार्थीहरु आफ्ना गुरुहरुप्रति उत्तिकै अनुग्रहित र नतमस्तक हुन्छन् । तर यसैको फाइदा उठाउँदै कतिपय शिक्षकले गुरु शब्द, शिक्षण पेशा र गुरु–चेलीको सम्बन्धमाथि नै अत्याचार गरेका छन् ।

यस्तै घटना हालै काठमाडौंमा भएको छ । मंगलबार बिहानैदेखि काठमाडौंको चावहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी शिक्षकबाट छात्रामाथि यौन दुर्व्यवहार भएको भन्दै आन्दोलित बने । कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरुलाई कलेजका संयोजक जनार्दन अधिकारी र नेपाली विषयका शिक्षक राजन पौडेलले दुर्व्यवहार गरेको आन्दोलित विद्यार्थीको आरोप छ ।

शिक्षक अधिकारीले कक्षा कोठामै अभद्र ब्यबहार गरेको पीडित छात्राको आरोप छ । कक्षा कोठामा बस्दा छात्र–छात्रा सँगै बसेको पाए विद्यार्थीलाई ती शिक्षकले याताना दिने गरेको समेत पीडितको गुनासो छ ।

शिक्षक अधिकारीले अध्ययनरत छात्रालाई मात्रै नभई विद्यालयका अरु महिला कर्मचारीलाईसमेत वर्षौँदेखि यौन दुर्व्यवहार गर्दै आएको विद्यार्थीको आरोप छ ।

विद्यार्थीले प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोशाकमै प्रदर्शन गरेका थिए । ३ जना विद्यार्थीले दिएको किटानी जाहेरीका आधारमा कलेजका संयोजकसमेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गौशाला प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक केशव भट्टराईले जानकारी दिनुभयो ।

यसअघि काठमाडौं बाहिरका केही विद्यालयबाट समेत शिक्षकहरुले दुर्व्यवहार गरेका घटना सार्वजनिक भएका थिए । विद्यार्थीको सबैभन्दा सुरक्षित स्थान र शिक्षाको मन्दिरमै, गुरु भनिनेबाट भएको दुर्व्यहारले अभिभावकहरु स्तब्ध बनेका छन् । शिक्षाको मन्दिरमा हुने यौन दुर्व्यवहार जस्तो जघन्य अपराधमा आरोपीलाई कडाभन्दा कडा सजाय नभए छात्राहरु थप पीडित बन्ने र शिक्षा क्षेत्र नै बदनाम हुने अवस्था नआउला भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *