आर्थिक

अर्थतन्त्र जोगाउने प्रयासको नतिजा कमजोर (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २९ गते २१:१२
अर्थतन्त्र जोगाउने प्रयासको नतिजा कमजोर (भिडियो रिपोर्टसहित)

२९ वैशाख २०७९ काठमाडौं । संकटोन्मुख अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई जोगाउन अनेक प्रयास गरिए पनि स्थितिमा अपेक्षित सुधार आएको छैन् ।

शोधनान्तर घाटा बढ्नु, विदेशी मुद्रा सञ्चिति घट्नु, व्यापार घाटा र मूल्यवृद्धि तीव्र दरले उकालो लाग्नु, रेमिट्यान्स ऋणात्मक हुनु लगायतका सूचकले अर्थतन्त्रमा सुधार नभएको पुष्टि गरेको छ।

पछिल्ला महिनामा मूल्य वृद्धि उच्च दरले उकालो लागिरहेको छ । चैतमा वार्षिक उपभोक्ता मूल्य वृद्धिदर औसत ७ दशमलव २८ प्रतिशत छ ।

गत आर्थिक वर्षको नौ महिनाको तुलनामा गत चैतको मूल्य वृद्धिदर ४ दशमलव १८ प्रतिशत बिन्दुले बढी हो । त्यसमाथी घट्दो विदेशी मुद्रा सञ्चिति, बढ्दो शोधनान्तर र व्यापार घाटा लगायत कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तमा मुलुकको कुल विदेशी मुद्रा सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ छ । अमेरिकी डलरमा गत चैतमा विदेशी मुद्रा सञ्चिति ९ अर्ब ६१ करोड छ । गत असारको तुलनामा यो १८ दशमलव २ प्रतिशतले घटेको हो ।

मुलुकको शोधनान्तर स्थिति गत चैतमा २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा छ । फागुनको तुलनामा चैतमा शोधनान्तर घाटा ९ अर्ब ४२ करोड रुपैयाँले थपिएको हो ।

९ महिनामा रेमिट्यान्समार्फत ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ मुलुक भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स शुन्य दशमलब ६ प्रतिशत घटेको हो ।

यस्तै यो अवधीमा आयात १४ खर्ब ६६ अर्ब रुपैयाँ र निर्यात १ खर्ब ६० अर्बको भएको छ । तथ्याङ्कले मुलुक १३ खर्ब ६ अर्ब व्यापारघाटामा रहेको देखिन्छ । गत वर्षको तुलानमा आयात ३२ प्रतिशतले बढेको हो ।

शोधनान्तर घाटा बढ्नु, विदेशी मुद्रा सञ्चिति घट्नु, व्यापार घाटा र मूल्यवृद्धि तीव्र दरले उकालो लाग्नु, रेमिट्यान्स आप्रवाह वृद्धिदर अझै ऋणात्मक हुनुलगायत सूचकले अर्थतन्त्रमा सुधार नभएको पुष्टि गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *