पत्रकारका संस्थाहरुको मति बिग्रिएपछि…(भिडियो रिपोर्टसहित)
२५ वैशाख २०७९ काठमाडौं । पत्रकारहरुकै संस्थाका रुपमा परिचित सत्तारुढ गठबन्धनका शुभेच्छुक संस्थाहरुले स्थानीय तह निर्वाचनका लागि गठबन्धनका उम्मेदवारलाई भोट मागेपछि पत्रकारिता क्षेत्रमै प्रश्न उठ्ने ठाउँ बनाइएको छ ।
दलहरुको प्रभावमा परेर कुनै दललाई भोट दिनु भन्दै सार्वजनिक आह्वान गर्नु निर्वाचन आचारसंहिता विपरीत त हो नै यस्तो काम सामान्य आचरणको पनि खिलाप हो ।
कुनै पेशागत संगठन त के सरकारमा रहेका दलका नेतालेसमेत चुनाव प्रचारप्रसार गर्न नपाउने गरी निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता बनाएको छ । निर्वाचन प्रभावित पार्नेगरी कुनै पनि दलको प्रचारप्रसारमा प्रत्यक्ष सहभागी हुने छुट राजनीतिक दलका कार्यकर्ताबाहेक कसैलाई छैन ।
स्थानीय तह निर्वाचनका लागि लागू गरिएको आचारसंहिता २०७८ को परिच्छेद २ दफा ४ (थ) अनुसार निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचार प्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने भनिएको छ । यो नियम कुनै व्यक्ति, दल वा संस्था विशेषका लागि मात्रै नभई सबैका लागि लागू हुन्छ ।
यो त निर्वाचन आयोगले तयार गरेको विशिष्ट कानूनी व्यवस्था भयो । यसलाई उल्लंघन गर्ने र आफ्नो दलको प्रचार गर्ने कुरामा दल, नेता र विभिन्न संस्थाहरु लागिपरेका छन् । आयोगले पनि उनीहरुलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । तर राज्यको चौथो अंग मानिने प्रेस, जो स्थायी प्रतिपक्षको भूमिकामा हुन्छ, यस्तो संस्थासँग नाम जोडिएका केही व्यक्तिसमेत अहिले सत्ता गठबन्धनको प्रचारप्रसारमा खुलेआम देखिएका छन् ।
एक त सञ्चारकर्मीहरु कुनै पनि दलको पक्ष वा विपक्षमा प्रचारमा लाग्नु हुँदैन । प्रेसको आफ्नै आचारसंहिता हुन्छ । यो सदाबहार पालना गर्नुपर्छ । त्यसमाथि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताकोसमेत खिलाप हुने गरी प्रेससँग नाम जोडिएका संस्था र व्यक्तिले साझा विज्ञप्ति नै जारी गरेर आफूहरुलाई राजनीतिक दलको पुच्छर पुष्टि गर्ने काम गरेका छन् ।
श्रमजिवी पत्रकारहरुको संस्था भनिएका संगठनहरुबाट पार्टीको भ्रातृ संस्थाका रुपमा वक्तव्यबाजी गरिँदा समग्र प्रेसको मुहारमा हिलो छ्याप्ने काम भएको छ । यो कुत्सीत कार्यले प्रेस क्षेत्र नै स्तब्ध बनेको छ । विगतमा प्रेस संगठनका नाममा पार्टी कार्यालय पुगेर मुड्की उठाएका तस्बिरहरुले जसरी प्रेसमाथिको विश्वसनीयतालाई कमजोर बनाउने काम गरेको थियो, अहिले यही बिँडो सत्तारुढ निकट दलसँग शुभेच्छा राख्ने प्रेसका संस्थाहरुले गरेका छन् ।
नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, प्रेस मञ्च नेपाल र प्रगतीशील पत्रकार संघ नेपालका नाममा केही व्यक्तिहरुले साझा विज्ञप्ति निकालेर गबन्धनका उम्मेदवारलाई भोट नहाले देश नै अस्थिरताको भूमरीमा जाने दाबी गरेका छन् । एउटा पत्रकारले कुनै पनि दलप्रति आग्रही भएर यो हदसम्मको नतमस्तकता देखाउन सक्दैन । पछिल्ला केही वर्ष यता पत्रकारिताका नाममा हुने अवैध धन्दाहरुका कारण समग्र क्षेत्रमाथि नै मानिसहरुको शंकालु दृष्टिकोण बढेको छ ।
यस्तो समयमा प्रेससँग सम्बन्धित संस्थाहरुमा आबद्ध व्यक्ति आफ्नो पेशा र पहिचानप्रति थप बफादार हुनुपर्ने हो । आफूलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र साबित गर्ने प्रयत्न गर्नुपर्ने हो । तर पत्रकार कै अभिभावक संस्थाका रुपमा आफूलाई दाबी गर्ने सोकल्डहरुबाट बेलाबेला देखिने विरोधाभास पूर्ण व्यवहारले विश्वसनीयता मात्र होइन नियतमाथि नै प्रश्न उठाउने गरेको छ । पत्रकारिता नै गर्ने व्यक्तिले चाँहि न्यूनतम नैतिकता सम्हालेर राख्नुपर्ने र दलको झोला त्याग्नुपर्ने नै देखिन्छ ।
प्रतिक्रिया