Main News

चितवन र पोखरा महानगरपालिकामा विवाद कायमै(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख १७ गते २१:३०
चितवन र पोखरा महानगरपालिकामा विवाद कायमै(भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७९ काठमाडौं । सत्ता गठबन्धनका दलहरुले ६ वटा महानगरमध्ये ३ वटा कांग्रेसलाई र एकीकृत समाजवादी, माओवादी र जनता समाजवादी पार्टीलाई १–१ स्थानमा मेयर पद दिने तय गर्‍यो । ६ महानगरमध्ये ४ महानगरमा सामान्य विवाद भएपनि चितवन र पोखरा महानगरपालिकाको विवाद भने अझै जारी छ ।

पोखरा महानगरमा पाँचदलीय गठबन्धनमा देखिएको विवाद अझै सुल्झिएको छैन । चुनावी प्रचारमा खटिनुपर्ने उम्मेदवारहरु अझै दिनहुँजसो छलफलमै व्यस्त छन् । मेयरमा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसबाट कोपिला रानाभाटको उम्मेदवारी छ । तर, मेयरमा कांग्रेसका विमल कार्कीको बागी उम्मेदवारी कायमै छ ।

पोखरामा वडाको भागबण्डा पनि मिलेको छैन । गठबन्धनको निर्णय अनुसार २० वडा कांग्रेस, ८ वडा माओवादी केन्द्र र ४ वडा नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो । तर, विवादका कारण सबै वडामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी उम्मेदवारको उम्मेदवारी कायम नै छ ।

मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विमलबहादुर कार्की लाल्टिन चिन्ह लिएर चुनावी मैदानमा होमिनु भएको छ भने दुई बागी उम्मेदवार ऋषि सापकोटा र नन्द तिवारीले भने मनोनयन फिर्ता लिनुभएको छ ।

चितवन महानगरमा पनि अवस्था उस्तै छ । माओवादी केन्द्रको भागमा परेको महानगरमा गठबन्धनको तर्फबाट पूर्व मेयर रेनु दाहालको उम्मेदवारी परेको छ । तर, नेपाली कांग्रेसका पूर्वसांसद समेत रहेका जगन्नाथ पौडेल र नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि मोहित पाण्डेले पनि मेयरमा उम्मेदवारी दिनुभयो । पाण्डेले केन्द्रको निर्देशनमा आफ्नो उम्मेदवारी फिर्ता लिए पनि पौडेलको उम्मेदवारी कायम छ ।

नेपाली कांग्रेसको भागमा परेको उपप्रमुखमा गठबन्धनको तर्फबाट पार्टीका महानगर सभापति चित्रसेन अधिकारिक उम्मेदवार हुन् । उनको विपक्षमा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि भोजराज कौडेलले पनि उम्मेदवारी दिनुभएको छ ।

गठबन्धनको तर्फबाट कांग्रेसलाई २०, माओवादीलाई ६ र एकीकृत समाजवादीलाई ३ वडा भागमा परेको थियो । वडामा एकअर्कामा बागी नपरे पनि कांग्रेसको भागमा परेको वडा नम्बर ३ मा गठबन्धनका उम्मेदवार भरत लामिछानेविरुद्ध कांग्रस नेता तारामित्र पण्डितको बागी उम्मेदवारी परेको छ ।

एकीकृत समाजवादीको भागमा परेको पोखरा र माओवादी केन्द्रको भागमा परेको भरतपुर महानगरमा कांग्रेसको उम्मेदवारीका कारण गठबन्धनको मत एकैतर्फ जाने अवस्था छैन । यो अवस्थामा गठबन्धनका उम्मेदवारलाई कठिन हुने देखिन्छ । यद्यपि मतदाताले केन्द्रीय निर्देशन मानेर गडबन्धन उम्मेदवारलाई नै भोट हाले भने अवस्था फरक हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *