Main News

भक्तपुरमा ७९ को उम्मेदवारी फिर्ता, तीन निर्विरोध

२०७९ वैशाख १७ गते १८:१४
भक्तपुरमा ७९ को उम्मेदवारी फिर्ता, तीन निर्विरोध

१७ वैशाख २०७९ भक्तपुर । भक्तपुरको चार स्थानीय तहमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिने ७९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपाली कांग्रेससहितको गठबन्धन, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रबाट उम्मेदवारी दिएका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, खुला सदस्य र महिला सदस्य गरी कूल ७९ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार चाँगुनारायण नगरपालिकामा प्रमुखका उम्मेदवार दुई, उपप्रमुख एक, वडाध्यक्ष आठ, वडासदस्य नौ र महिला सदस्य दुई गरी २२ जना, भक्तपुर नगरपालिकामा वडाध्यक्ष सात र वडा सदस्य आठ गरी १५ जना, मध्यपुरथिमि नगरपालिकामा नगरप्रमुख एक, उपप्रमुख दुई, वडाध्यक्ष १३, वडा सदस्य चार र महिला सदस्य दुई गरी २२ जना र सूर्यविनायक नगरपालिकामा प्रमुखमा दुई, विभिन्न वडामा वडाध्यक्षमा ११, वडा सदस्य पाँच, महिला सदस्य एक र दलित महिला सदस्य एक गरी २० जनाले उम्मेदवारी फिर्ता लिएको कार्यालयका प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाका ३८ वटा वडामध्ये आठवटामा दलित महिला उम्मेदवार नपाउँदा ती वडामा दलित महिला पद रिक्त हुन पुगेको छ । स्थानीय तह निर्वाचन ऐन–२०७३ ले स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष एक पद र वडामा निर्वाचित पाँचमध्ये एक खुलाबाट महिला र एक दलित महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि कतिपय वडामा उम्मेदवारी नपर्दा दलित महिलाको कोटा रिक्त रहेको प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लाको भक्तपुर नगरकाको १० वटा वडामध्ये १, २, ३, ४, ७, ८ र ९ नं वडा गरी सातवटा र मध्यपुरथिमिको वडा नं ४ मा दलित उम्मेदवार नपाएपछि यी आठवटा वडामा दलित महिला सदस्यको पद नै रिक्त भएको छ ।

दलित महिलातर्फ तीनवटा वडामा भने एक जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध भएको उहाँले बताउनुभयो । उहाँले नेमकिपाका उम्मेदवार भक्तपुर नगरपालिका–५ मा सरिना द्यौला (पोडे) र १० मा विष्णुमाया कामीलाई तथा नेपाली कांग्रेसले मध्यपुरथिमि–५ मा लक्ष्मी द्यौला निर्विरोध भएको उहाँले जानकारी दिनुभयो ।

जिल्लाका चार नगरका अन्य वडामा भने दलित महिला पदमा कांग्रेस, एमालेसहित केही दलका गरी ९० जनाको उम्मेदवारी परेको न्यौपानेले जानकारी दिनुभयो । सबै वडामा दलित बस्ती नभएका कारण उम्मेदवारी नपरेको दलहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *