Main News

मेयरका उम्मेदवारी महर्जनविरुद्ध उजुरी

हिमालय टिभी
२०७९ वैशाख १३ गते १९:११
मेयरका उम्मेदवारी महर्जनविरुद्ध उजुरी

१३ वैशाख २०७९ काठमाडौं । ललितपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवार रहेका चिरिबाबु महर्जनविरुद्ध निर्वाचन अधिकृत समक्ष विरोधको उजुरी परेको छ ।

ललितपुर वडा नम्बर १८ का गोपाल डंगोलले हालका मेयर महर्जनले आफ्नो कार्यकालको २ अर्ब १५ करोडभन्दा बढी बेरुजु फर्छ्यौट नगरेको भन्दै दाबी विरोध गर्नुभएको छ । महर्जनको कार्यकालमा महानगरपालिकाको बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको भन्दै उनको उम्मेदवारी रद्द हुनुपर्ने माग डंगोलले गर्नु भएको छ ।

त्यस्तै महानगरपालिकाकै वडा नम्बर ५ को वडाध्यक्ष पदमा उम्मेदवार बनेका कांग्रेसका सञ्जीव पाण्डे राष्ट्रिय खेलकुद परिषद्को कर्मचारी भई सरकारी सेवा सुविधामा हालसम्म एन्फा सातदोबाटोमा कार्यरत रहेको दाबी गर्दै उजुरी परेको छ ।

अर्को उजुरीमा ललितपुरकै हरिशरण तामाङले मतदाता नामावलीमा नामै नभएकी सिर्जना भुजेलको वडा नम्बर ९ बाट सदस्य उम्मेदवारी परेको भन्दै रद्द गर्न माग गरेका छन् । निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा बेरुजु रहेका व्यक्तिले उम्मेदवार बन्न नपाउने उल्लेख गरेको छ ।

यद्यपि महर्जनले भने महानगरपालिकाको संस्थागत बेरुजु भए पनि आफ्नो व्यक्तिगत बेरुजु नरहेको बताएका छन् । आयोगले आज उम्मेदवार विरुद्ध उजुरी दिने समय तोकेको थियो । आयोगले कतिको उजुरी पर्‍यो भनेर विवरण संकलन गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *