राजनीति

सत्ता गठबन्धनले टुङ्गो लगायो महानगर र उपमहानगरमा सिट बाँडफाँट

हिमालय टिभी
२०७९ वैशाख ७ गते १९:१८
सत्ता गठबन्धनले टुङ्गो लगायो महानगर र उपमहानगरमा सिट बाँडफाँट

७ वैशाख २०७९ काठमाडौं । पाँच दलीय गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाहरुका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारको सिट बाँडफाँट टुङ्ग्याएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको गठबन्धनका शीर्षनेताको बैठकले सो सहमति गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गठबन्धन दलबीच कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुखमा तथा वीरगञ्ज, भरतपुर र पोखराको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।

यसैगरी कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको प्रमुखमा तथा जितपुर–सिमरा, घोराही र हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने बैठकको सहमति छ ।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुखमा र ललितपुर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ । यस्तै माओवादी केन्द्रले जितपुर–सिमरा र घोराही उपमहानगरपालिकाको प्रमुख तथा धरान र धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनेछ । गठबन्धनको अर्काे घटक नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकाको प्रमुख तथा काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनेछ ।

एकीकृत समाजवादीले हेटाँैडा उपमहानगरपालिकाको प्रमुख तथा इटहरी, बुटवल र तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।
यस्तै जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिकाको प्रमुखमा र विराटनगर महानगरपालिकाको उपप्रमुखमा तथा जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा कलैया र नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।

पाँचदलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरेको छ ।

साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिनेसमेत समझदारी भएको छ । सो सहमतिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्