Main News

के नेपालको अर्थतन्त्र श्रीलंकाकै बाटोमा गएको हो ? यस्तो रहेछ वास्तविकता (भिडियो रिपोर्टसहित)

२०७८ चैत २८ गते २१:१३
के नेपालको अर्थतन्त्र श्रीलंकाकै बाटोमा गएको हो ? यस्तो रहेछ वास्तविकता (भिडियो रिपोर्टसहित)

२८ चैत २०७८ काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्रका सूचकहरु सकारात्मक छैनन् । आयातमा भएको वृद्धि, घट्दो रेमिट्यान्स र कोरोनाले प्रभावित पर्यटन व्यवसाय लयमा नफर्कँदा ढुकुटीमा रहेको विदेशी मुद्रा सञ्चिती घट्दै गएको छ, शोधनान्तर पनि घाटामा छ । यो अवस्थालाई लिएर चरम आर्थिक संकटमा फसेको श्रीलंकासँग नेपाललाई तुलना गर्न थालिएको छ। वास्तवमा नेपाल श्रीलंकाकै मार्गमै हो त ?

गत आर्थिक वर्ष २०७७–०७८ को अन्तिम महिना असारसम्म नेपालसँग १३ खर्ब ९९ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति थियो । यसले १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्थ्यो । मुलुक भित्रने र बाहिरिने रकमबीचको अन्तर देखाउने शोधनान्तर स्थिति १ अर्ब २३ करोड रुपैयाँ बचतमा थियो ।

औसत उपभोक्ता मुद्रास्फीति अर्थात् महंगी ३ दशमलव ६० प्रतिशत थियो । आर्थिक वर्ष २०७७–७८ मा चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्स वर्षभरिमा ९ खर्ब ६१ अर्ब रुपैयाँ भित्रिएको थियो । वर्षभरिमा १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु तथा सेवाको आयात भएको थियो ।

आर्थिक वर्ष २०७८–०७९ को ७ महिना माघसम्म आइपुग्दा नेपालसँग कुल विदेशी विनिमय सञ्चिति असारको तुलनामा १६ दशमलव २ प्रतिशतले कमी आई ११ खर्ब ७३ अर्ब २ करोड रुपैयाँ कायम भएको छ । यो सञ्चितिले अबको ६ महिना वस्तु तथा सेवा आयात धान्न पुग्छ ।

शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको छ । उपभोक्ता मुद्रास्फीति ५ दशमलव ९७ प्रतिशत रहेको छ । चालु खाता पनि ४ खर्ब १३ अर्ब ८६ करोडले घाटामा छ । ७ महिनामा ५ खर्ब ४० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गएको वर्षभरिमा करिब साढे १५ खर्बको वस्तु तथा सेवा आयात भएकोमा यो वर्षको सात महिनामै ११ खर्ब ४७ अर्ब रुपैयाँको आयात भइरहेको छ । रेमिट्यान्समा आएको गिरावट र बढ्दो आयातले मुलुकको बाह्य क्षेत्र सन्तुलनमा दबावमा आएको छ ।

चालू खाता र शोधनान्तर घाटा, विदेशी मुद्राको सञ्चितिमा आएको क्षयीकरणले अर्थतन्त्रमा समस्या सृजना भएको छ । आयातको तुलनामा नेपालको विदेशी मुद्रा आर्जनको मुख्य स्रोत रेमिट्यान्स र पर्यटन आगमनले विदेशी मुद्रा सञ्चितिलाई टेको दिन नसकेपछि अर्थतन्त्र केही धर्मराएको अर्थविद् बताउँछन् ।

विदेशी विनिमय सञ्चिति थप घट्न नदिन राष्ट्र बैंकले ४० समूहका १३ सय भन्दा बढी वस्तु तथा सेवाको आयातमा कटौती गरेको छ । यसले अर्थतन्त्रलाई थप कमजोर हुन नदिने अनुमान गरिएको छ।

नेपालको अर्थतन्त्रको यो अवस्थालाई लिएर कतिले सार्क मुलुक श्रीलंकासँग पनि तुलना गर्ने गरेका छन् । श्रीलंका वैदेशिक ऋणले चरम आर्थिक संकटमा फसेको छ । पर्यटनबाट हुने आम्दानी र रेमिट्यान्स घट्दा त्यहाँ अत्यावश्यक वस्तुको पनि खरिद गर्ने पैसा छैन ।

विदेशी मुद्रा आर्जनको स्रोत दुबै मुलुकको पर्यटन र रेमिट्यान्स हो । दुबै यहाँ पनि घट्दो क्रममा छ । तर पर्यटक आगमन विस्तारै बढ्न थालेको छ रेमिट्यान्स पनि सुधार हुने अपेक्षा गरिएको छ। वैदेशिक ऋणका आधारमा त हामी श्रीलंका भन्दा निकै सुरक्षित छौं । नेपालको ७ अर्ब अमेरिकी डलक ऋण छ ।

श्रीलंकाको ३५ अर्ब अमेरिकी डलर ऋण छ । यसकारण अहिले मुलुकको अर्थतन्त्रका सूचकहरु सकारात्मक नरहेपनि सुधारको प्रयास थाल्ने हो भने त्रसित भइहाल्नुपर्ने अवस्थामा नेपाल नरहेको जानकार बताँउछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *