Main News

सुध्रिएला नेपाल र भारतबीचको सम्बन्ध ? (भिडियो रिपोर्टसहित)

२०७८ चैत १८ गते २१:०४
सुध्रिएला नेपाल र भारतबीचको सम्बन्ध ? (भिडियो रिपोर्टसहित)

१८ चैत २०७८ काठमाडौं । नेपाल र भारतबीच बलियो सम्बन्ध हुँदाहुँदै पनि पछिल्लो समय देखिएको सीमा विवादले चिसोपन बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा दुई देशबीचका समस्या समाधान हुने अपेक्षा त गरिएको छ तर विश्वस्त हुने आधार भने देखिँदैन ।

नेपालमा गणतन्त्र स्थापनापछि बनेका प्रधानमन्त्रीहरुमध्ये सुशील कोइराला बाहेक सबै प्रधानमन्त्रीले भारत भ्रमण गरिसकेका छन् । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भण्डै ८ महिनापछि भारतको तीन दिने भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली पुग्नु भएको छ ।

चार जना विभागीय मन्त्रीसहित ५० जना लिएर प्रधानमन्त्री देउवाले गरेको यो भ्रमणले दुई देशका बीचमा सम्बन्ध सुधार गर्न योगदान पुग्ने चर्चा भैरहेको छ । जुन कुरा हरेक प्रधानमन्त्रीको भारत भ्रमणका बेला भनिँदै र सुनिदैं आइएको छ । सम्भवत प्रधानमन्त्री देउवाले तीन दिने भ्रमण पुरा गरि स्वदेश फर्कने क्रममा आफ्नो भ्रमणले सम्बन्ध सुधार गर्न मद्दत गरेको भन्नु हुने नै छ ।

तर भारत र नेपालका बीचमा सहजै सम्बन्ध सुधार भयो भन्नु र दुई देशका बीचमा बर्षौदेखि रहेका समस्याको समाधानमा तत्परता देखाउनु फरक बिषय हुन् । दुई देशबीचका समस्या समाधानका लागि भारतले सधैं अर्घेल्याई गर्दै आएको कुटनीतिक जानकारहरु बताउँछन् ।

उदाहरणका लागि दुई देशका बीचमा रहेका समस्या समाधानका लागि गठित प्रवुद्ध नागरिक समूह ईपिजीको प्रतिवेदन भारतले बुझेको छैन । यो प्रतिवेदन एकतर्फी नभएर दुवै देशका विज्ञहरुले हस्ताक्षर गरेको साझा दस्ताबेज हो । इपीजीको प्रतिवेदनमा समस्याको मात्रै उजागर गरिएको छैन, समाधानका पाटा पनि उल्लेख गरिएको छ ।

सीमा समस्या, व्यापार, पानी लगायतका बिषयमा दुई देशका बीचमा रहेका जटिल समस्या समाधानको उपाय सुझाइएको प्रतिवेदन नै भारतको तर्फबाट बुझ्न आनाकानी हुँदै आएको यस्का संयोजक तथा भारतका लागि पूर्व नेपाली राजदूत भेषबहादुर थापा बताउनु हुन्छ ।

जसरी भारत र नेपालका बीचको सम्बन्धमा व्यापकता छ,उसैगरी समस्या पनि रहेको तथ्यलाई नकार्न सकिँदैन ।

कालापानी, सुस्ता, लिपुलेक, लिम्पियाधुरा लगायतका दर्जनौं स्थानमा भारतले नेपालको भूमिमाथि गरेको अतिक्रमणका कारण नेपालमा भारतविरोधी मत ठूलो छ । सीमा जोडिएका तराईका अधिकांश जिल्लामा भारतले सीमामा बनाएको सडकका कारण डुबानको समस्या छ । त्यस्तै व्यापार घाटा, भारतको सहयोगमा विभिन्न नदीमा बनाइएका नहरहरुबाट पानीको बाँडफाँड लगायतमा भारतको तर्फबाट भएको बलमिच्याइ लगायतका बिषयमा नेपालको मन बर्षौ देखि दुखिरहेको छ ।

यी थुप्रै समस्या समाधानका लागि प्रधानमन्त्री देउवाको यो भ्रमण उपयुक्त हुने अनुमान गरिए पनि यी विषय छलफलका एजेण्डा बन्नेमै आशंका छ ।

भारतले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । छिमेकीको नाताले भारतले नेपालबाहेक अरु देशलाई पनि सोही अनुसार सहयोग गर्छ । जुन स्वभाविक छ । तर दुई देशबीच रहेका समस्याको समाधानमा उदासिनता देखाउँदा भारतको सहयोग बालुवामा पानी खनाउनु जस्तै बनेको छ । नेपालले यो विषयमा भारतलाई प्रष्ट पारिदिनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *