Main News

उम्मेदवार छनोट गर्न एमालेले बनायो यस्तो मापदण्ड (भिडियो रिपोर्टसहित)

२०७८ चैत १२ गते १८:१५
उम्मेदवार छनोट गर्न एमालेले बनायो यस्तो मापदण्ड (भिडियो रिपोर्टसहित)

१२ चैत २०७८ काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड तयार गरिसकेको छ । केन्द्रीय कमिटी बैठकमार्फत् एमालेले उम्मेदवार छनोटको मापदण्ड तयार त गर्‍यो तर, आफ्नै पार्टीमा रहेका र हालसालै अन्य पार्टीबाट एमाले प्रवेश गरेका नेताहरूलाई कसरी व्यवस्थापन गर्न सक्ला भन्ने प्रश्न उठेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गर्नेको लहर चलेको दाबी गर्दै आउनुभएको छ । अध्यक्ष ओलीले अहिले ११ लाख संगठित सदस्य संख्या पुगेको बताउँदै यो संख्या बढ्दै जाने जिकिर गर्नुभएको छ ।

पछिल्लो समय वीरगजञ्जका मेयरदेखि एक पूर्वमन्त्रीलगायत एमालेमा प्रवेश गरिसकेका छन् । एमालेमा प्रवेश गर्नेको संख्या त बढेको छ तर चुनावमा कसरी उम्मेदवार छान्ला भन्ने लख काट्न पनि शुरु भइसकेको छ ।

त्यसो त ओलीमाथि आफ्नालाई पाखा, अरुलाई काखा गरेको आरोप पार्टीभित्रैबाट लाग्ने गरेको छ । अन्य दलबाट निर्वाचित जनप्रतिनिधिलाई समेत पार्टी प्रवेश गराएका ओलीलाई उम्मेदवार छनोटमा भने सकस हुने देखिन्छ । बिहीबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोटका लागि ६ वटा मापदण्ड तोकेको छ ।

उम्मेदवार छनोट गर्दा पार्टी, नीति र कार्यक्रमप्रति प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्याङ्कन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता विकास र सुशासनप्रतिको दृष्टिकोण तथा सन्तुलन र समावेशितालाई आधार बनाउन केन्द्रीय कमिटी बैठकले तय गरेको छ ।

उम्मेदवार चयनका सन्दर्भमा वडाध्यक्षका लागि वडा र गाउँ तथा नगर कमिटीले जिल्ला कमिटी समक्ष सिफारिश गर्ने व्यवस्था गरेको छ । त्यस्तै, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिका मेयर तथा उपमेयरका लागि गाउँ तथा नगर कमिटी र जिल्ला कमिटीले प्रदेश कमिटीलाई सफारिश गर्ने व्यवस्था गरेको छ ।

यससँगै उपमहानगर र महानगरका मेयर तथा उपमेयरका लागि नगर कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिश गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय नेतृत्वले चुनावमा जित्न सक्ने सम्भावना भएका भन्दै भटाभट पार्टी प्रवेश गराउने तर उम्मेदवार सिफारिस भने तल्लो तहबाट गर्ने मापदण्डमै विरोधाभास देखिन्छ ।

जसका कारण उम्मेदवार चयनका लागि एमालेले तय गरेको मापदण्ड देखाउने दाँतका रुपमा मात्रै सीमित हुने पक्का छ । पार्टीमा केन्द्रीय सदस्यहरुलाई समेत विचारको स्वतन्त्रता नदिएका अध्यक्ष ओलीले उम्मेदवार चयनमा आफ्नै तजबिजीमा निर्णय लिने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *