Main News

आफ्नो क्यामेरामा कैद नेपालको सौन्दर्य र सम्पदाबारे के भन्छन् भरतबन्धु थापा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २१ गते १८:२९
आफ्नो क्यामेरामा कैद नेपालको सौन्दर्य र सम्पदाबारे के भन्छन् भरतबन्धु थापा ? (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७८ काठमाडौं । फोटो पत्रकारका रुपमा देश छिचोल्दै गर्दा भरतबन्धु थापाले अनेकन सौन्दर्य र सम्पदा आफ्नो क्यामरामा कैद गर्नुभएको छ । सौन्दर्य मात्र होइन, केन्द्रले देख्न नसकेको नेपाली संस्कृति, परम्परा र इतिहास पनि देशविदेशसम्म पुर्‍याउन सफल हुनुभएको छ ।

फोटो खिच्ने क्रममा फोटो पत्रकार भरतबन्धु थापा ७७ मध्ये ७५ जिल्ला पुग्नुभयो । थापाले कयौं डकुमेन्ट्री, भ्लग, फोटो कथा, स्थान विशेषको फोटोसहितको परिचय, प्रकाशन प्रशारण गरिसक्नु भएको छ ।

थापाले पछिल्लो एक दशकमा प्रकाशित भएका वाइल्ड वेष्ट नेपाल, गन्तोय कर्णाली, एक्सप्लोर फारवेष्ट जस्ता किताबमार्फत सुदूरपश्चिम र कर्णालीलाई आम नागरिकमा पु‍र्‍याउनुभयो । पछिल्लो पटक प्रकाशित पुस्तकमा थापाले मेचीदेखि महाकाली र सगरमाथादेखि केचनाकवलसम्मका पर्यटन, कला, संस्कृति र समाजलाई दृष्यमा समेट्नु भएको छ । जुन पुस्तकलाई अंग्रेजीमा अनुवाद गरेर प्रकाशन गर्ने तयारी पनि गरिएको छ ।

नेपाल प्राकृतिक सौन्दर्य, संस्कृति, इतिहास र परम्परामा धनी छ । यसको प्रवर्द्धन र प्रचारप्रसार गरेमा नेपालको पर्यटन उद्योगले गति लिन सक्छ । यसले दूरदराजका नागरिकको जीवनस्तर उकास्नसमेत सकिने थापाको अनुभव छ । तर, यसलाई प्रचार–प्रसार र व्यवस्थित गर्न नसकिएकोमा भने उहाँ दुःखी हुनुहुन्छ ।

कुनै समय गणितका शिक्षक रहेका थापा, अहिले नेपालकै उत्कृष्ट नेचर फोटोग्राफरका रुपमा परिचित हुनुहुन्छ । फोटो खिच्नका लागि हप्तौंको कष्टप्रद पदयात्रा गर्नुभएको छ । तर, ती कष्टपछि प्राप्त हुने आनन्दले सबै दुःख बिर्साइदिन्छ । र, त अझ धेरै ठाउँ पुग्ने ऊर्जा मिल्छ ।

देश भ्रमणका क्रममा जेजति देख्नुभयो, भरतबन्धुले त्यसलाई प्रचार गर्ने अठोट लिनुभएको छ । तर, एक व्यक्तिको सक्रियताले देशको प्रचार प्रसार पर्याप्त नभएको थापाको अनुभव छ । पर्यटन क्षेत्रलाई उद्योगका रुपमा विकास गर्ने योजना बनाइरहेको सरकारको वर्तमान सक्रियता भने पर्याप्त छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *