रुस–युक्रेन युद्ध : तीन सयभन्दा बढी नेपाली सुरक्षित स्थलमा

१८ फागुन २०७८ लण्डन । रुस–युक्रेन द्वन्द्व प्रभावित क्षेत्रबाट ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् ।
रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतका देशमा पुगेको जानकारी दिनुभयो ।
समितिका अनुसार मंगलबारसम्म २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन् ।
यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरुलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।
बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले रुसमा रहेका नेपालीहरुले समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीहरुसँग सम्पर्क रहेको जानकारी दिनुभयो ।
उहाँले एनआरएनएका राष्ट्रिय समितिहरु उद्धार कार्यमा सक्रिय रुपमा लागि परेको जानकारी दिदै एनआरएनए पोल्याण्डको सक्रियतामा आर्थिक सहयोग संकलनको तयारी थालिएको जनाउनुभयो ।
रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी किभमा रहेका सम्पूर्ण नेपालीले युक्रेन छोडेको जानकारी दिनुभयो । उहाँले पछिल्लो समयमा रुसमा रहेका नेपाली विधार्थीहरु चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिनुभयो । उहाँले पश्चिमी मुलुकहरुले रुससँगको हवाई उडानमा प्रतिबन्ध लगाएका कारण रुसमा बस्ने नेपालीहरुमा समेत संशय थपिएको बताउनुभयो ।
बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले गैरआवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खानेबस्ने व्यवस्था गरेको जानकारी दिनुभयो । सुवेदीले युक्रेनमा रहेका नेपालीहरुको संख्या सोचेभन्दा अझ बढी हुनसक्ने बताउनुभयो ।
समितिका सदस्य सचिव चिरन्जीबी खड्काले बैठकमा नेपालहरुको उद्धारका लागि सीमा क्षेत्रमा खटिएको अनुभव सुनाएका थिए । उनले अत्याधिक चिसोका कारणले युद्ध पीडित नेपालीहरु थप समस्यामा रहेको जानकारी दिनुभयो ।
एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीहरुलाई खानेबस्ने र परिचयपत्र लगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जनाकारी दिनुभयो । उहाँले अलपत्र परेर त्यहाँ पुगेका नेपालीहरुले आफ्नो संजाल बनाएर एकअर्कालाई सहयोग गरेको बताउनुभयो । उहाँले युद्ध पीडित नेपालीहरुलाई आर्थिक अभाव रहेको बताउनुभयो । उहाँले आफ्नै रेष्टुरेन्ट खाली गरेर १६ जना नेपालीलाई खाने र बस्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।
रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले रोमानिया आएका २३ जना नेपाली सुरक्षित गन्तव्यतिर लागेको जानकारी दिनुभयो । उहाँले केही नेपालीहरु अन्जानमा हंगेरीको सीमामा पुग्दा अलपत्र परेको समेत बताउनुभयो ।
बैठकमा युक्रेनको युद्धबाट ४ दिन हिडेर बाँचेका दाङका विक्रम खड्काले युद्धमा परेका बेला सामना गरेको कठिनाइ सुनाउनु भयो । उहाँले युक्रेनदेखि हङगेरी पुग्दा बाटोमा बम पड्केको र ठूल्ठूलो आवाज सुुने अनुभव सुनाउनु भयो ।
यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त युद्ध पीडितको उद्धारका लागि सोमबारदेखि पोल्याण्डको सीमा क्षेत्रमा आफै खटिनु भएको छ भने नेपाली राजदूत रामकाजी खड्काले बुधबारदेखि सीमा क्षेत्रमा आफै खटिएर नेपालीहरुको उद्धार गर्ने तयारीमा लाग्नुभएको रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया