Main News

महाशिवरात्रिको तयारी–झकिझकाउ पाशुपत क्षेत्र, यस्तो छ भोलि दर्शनको व्यवस्था (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १६ गते २०:३६
महाशिवरात्रिको तयारी–झकिझकाउ पाशुपत क्षेत्र, यस्तो छ भोलि दर्शनको व्यवस्था (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७८ काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको तयारी पूरा भएको जनाएको छ। कोरोना कहरको तेस्रो लहरका कारण पशुपति मन्दिर माघ २८ गतेसम्म बन्द थियो। माघ २९ गते विशेष पूजा गरेर सर्वसाधारणका लागि दर्शन गर्न खुल्ला गरिएको हो ।

कोषका अनुसार महाशिवरात्रि पर्व व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीको संयोजकत्वमा २ सय ५१ सदस्यीय महाशिवरात्रि पर्व मूल समारोह समिति गठन गरिएको छ ।

विषयगत व्यवस्थापनका लागि समितिअन्तर्गत रहने १० उपसमिति गठन गरिएको छ । बिहान ३ बजेदेखि नै पशुपतिका चार वटै ढोका खोल्ने र श्रद्धालु भक्तजनलाई छिटो, छरितो, सुरक्षित र व्यवस्थित रुपमा दर्शन गर्न सक्नेगरी व्यवस्था व्यवस्थापन गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले यस्तो भनिरहँदा अघिल्ला वर्षहरुको अनुभव राम्रो नभएका दर्शनार्थी भने अघिल्लो दिन नै दर्शनका लागि पशुपति क्षेत्र पुगेका छन् ।

उत्तरी भेग गुहेश्वरीतर्फबाट आउने दर्शनार्थीलाई उत्तर ढोकाबाट, सिफल जयबागेश्वरीतर्फबाट आउने दर्शनानर्थीलाई पश्चिमी ढोकाबाट, एयरपोर्ट र गौशाला तर्फबाट आउनेलाई पिंगलास्थानको गेटबाट प्रवेश गराई रिङ्गरोडतर्फको ठूलो प्रवेशद्वारको लाइनमा मिसाएर दक्षिण ढोकाबाट प्रवेश गराउने व्यवस्था गरेको कोषले बताएको छ ।

१० लाख दर्शनार्थीले दर्शन गर्ने अनुमानमा नै सुरक्षा व्यवस्था मिलाउन ४ हजार नेपाल प्रहरी, ३५ सय सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग, नेपाल स्काउट र अन्य संस्थाबाट गरी ५ हजारको संख्यामा स्वयंसेवक परिचालन गरिने कोषले बताएको छ ।

यस वर्ष पशुपतिमा करिब ३५ सय साधुसन्त आएको अनुमान गरिएको छ । महाशिवरात्रिका लागि आएका साधुसन्तहरुलाई आइतबार शोभा यात्रासहित स्वागत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *