Main News

पर्सिदेखि वर्षा र हिमपात हुने, आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

हिमालय टिभी
२०७८ फागुन ११ गते ८:५७
पर्सिदेखि वर्षा र हिमपात हुने, आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११ फागुन २०७८ काठमाडौं । आज देशका केही स्थानमा वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् ।

राति प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपात हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। यस्तै राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अहिले पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा भएको मौसमविद् भट्टराईको भनाइ छ ।

उहाँका अनुसार भोलि यो प्रणाली कमजोर हुने देखिएको छ । तर पर्सि भने देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *