राजनीति

एमसीसी विवादले सत्तामा नयाँ समीकरणको सम्भावना बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ६ गते २०:५२
एमसीसी विवादले सत्तामा नयाँ समीकरणको सम्भावना बढ्दै (भिडियो रिपोर्टसहित)

६ फागुन २०७८ काठमाडौं । सत्ता गठबन्धनका दलबीच एमसीसीलाई लिएर बढ्दै गएको दूरीले सत्ता समीकरणसमेत फेरिन सक्ने सम्भावना बढेको छ । गठबन्धनभित्रैका अडान र प्रमुख प्रतिपक्षी दलको दाउपेचले नयाँ गठबन्धनको सम्भावना बढेको हो ।

प्रतिनिधि सभामा एमसीसी पेश गर्ने विषयमा सत्तारुढ दलबीच सहमति जुटिरहेको छैन । प्रमुख सत्तारुढ दल नेपाली का‌ग्रेस एमसीसीलाई संसदको कार्यसूचीमा प्रवेश गराउनैपर्ने जोडमा छ । माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनबिना संसदमा पेश गर्नै नदिने रणनीतिमा छन्। सरकारमै रहेका दलहरुबीचको एमसीसी विवाद सतहमै छताछुल्ल भइसकेको अवस्था छ ।

प्रमुख सत्तारुढ दल कांग्रेसले पनि एमसीसी टेबुल गर्ने विषयमा सहमति नजुटे गठबन्धनै धरापमा पर्ने चेतावनी दिइसकेको छ ।

सत्ता गठबन्धनका नेताहरु एमसीसीमा सहमति जुटाउन भन्दै दैनिकजसो छलफलमा जुट्ने र सहमतिमा पुग्न नसकेर बैठक सार्ने क्रमलाई निरन्तरता दिइरहेका छन् । सत्ता गठबन्धनमा भइरहेको एमसीसी विवादको फाइदा उठाउने दाउमा एमाले लागिरहेको छ । उ कि गठबन्धनको एउटै स्वर हुनुपर्ने कि गठबन्धन नै तोडिनुपर्ने लाइनमा छ ।

गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले जबरजस्ती एमसीसी टेबुल गरिए गठबन्धनबाट बाहिरिने निर्णय गरिसकेको छ । एकीकृत समाजवादी पनि एमसीसीमा कुनै पनि हालतमा समर्थन गर्न नसकिने निश्कर्षमा पुगिसकेको छ ।

सत्ता गठबन्धनमा बढ्दै गएको दरार र विपक्षी दलको च्याँखे दाउका कारण एमसीसीकै कारणले सत्ता समीकरणसमेत बदलिन सक्ने अवस्था नजिकिँदै गएको छ । फागुन ८ का लागि सारिएको सहमतिको अन्तिम लगन र सोही दिनका लागि तोकिएको संसद बैठकले निकास दिन नसके सत्ताका लागि नयाँ समीकरण बन्ने सम्भावना बढेको हो ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्