Main News

एमसीसीमा सभामुखको भूमिका के हो ? प्रश्नको घेरामा सभामुख सापकोटा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २६ गते २०:३०
एमसीसीमा सभामुखको भूमिका के हो ? प्रश्नको घेरामा सभामुख सापकोटा (भिडियो रिपोर्टसहित)

२६ माघ २०७८ काठमाडौं । संसदबाट पारित गर्नुपर्ने शर्त रहेको एमसीसीमा सभामुख अग्निप्रसाद सापकोटालाई जोड्न थालिएको छ । राजनीतिक वृत्तमा अहिले सभामुखको भूमिकामा मात्र होइन, उहाँको कार्यशैलीमाथि पनि प्रश्न उठाइएको छ ।

एमसीसीकै कारण अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख सापकोटाको भूमिकालाई लिएर आक्रोश पोख्नुभएको थियो । अहिले प्रधानमन्त्री शेरबहादुर देउवा पनि सभामुखसँग सन्तुष्ट हुनुहुन्न । यतिबेला सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्ष एमाले यो विषयमा एकमत जस्तै देखिएका छन् । यही बाहनामा धमिलो पानीमा माछा मार्ने काम पनि शुरु भएको छ ।

प्रतिनिधिसभाको बैठक पटक–पटक स्थगित हुँदै आएको छ । सरकारले अहिलेकै बैठकमा एमसीसी टेबल गर्न चाहेपनि संसद बैठक बोलाउन सभामुख सापकोटा उत्साहित हुनुहुन्न । अर्थात सापकोटाले दलीय सहमति जुटाएर संसद सञ्चालन गर्न शर्त राख्दै एमसीसी संसदमै छलफल गर्न नदिने नियत राखेको सत्तारुढ कांग्रेसभित्र चर्चा छ ।

यो पहिलो भने होइन, यसअघि ओली नेतृत्वको सरकारले तत्कालिन सभामुख कृष्णबहादुर महरालाई एमसीसी टेबल गर्न पटकपटक दबाब दिइएको विषय पनि सतहमा आएको थियो । अहिले सभामुख सापकोटाले पनि टेबल गर्न अनिच्छा देखाएको विषय त ओलीले सार्वजनिक रुपमै व्यक्त गर्नुभएको थियो ।

अहिले त्यही अवस्था छ । माघ १६ गतेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको थियो तर सम्भावित कार्यसूची सार्वजनिक भएपछि बैठक १० दिनका लागि सारियो । पुनः माघको २६ गतेपनि विशेष कारण भन्दै बैठक फागुन २ गतेका लागि सारिएको छ । सरकारले ल्याएको ‘बिजनेस’लाई संसदमा पेस गर्नुपर्नेमा अवरोध गरेको सभामुख सापकोटामाथि आरोप छ ।

स्वतन्त्र हुनुपर्ने सभामुख पार्टीको कार्यकर्ता जस्तो बनेको कांग्रेस र एमालेको आरोप छ । तर, माओवादीले भने एमसीसी राष्ट्रघाती भएकाले विपक्षमा उभिएको भन्दै बचाउ गर्ने गरेको छ ।

आफूले कारवाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेर पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाउँदै आएको एमाले सभामुख सापकोटासँग चिढिएको छ । एमसीसी प्रकरणमै रुष्ट बन्न थालेको कांग्रेससँग मिलेर एमाले सभामुखलाई झटारो हान्न चाहन्छ ।

आफूलाई प्रधानमन्त्रीबाट हटाउन का‌ग्रेससँग गठबन्धन गरेका दललाई सत्ताबाट हटाउन ओली लागिपर्नुहुनेछ। अब, नेकपा माओवादी र एकीकृत समाजवादी एमसीसी टेबल गर्ने विषयमा सहमत हुनुपर्ने नभए नेकपा एमालेसँग मिलेर कांग्रेसले सभामुख हटाउने प्रयत्न अघि बढाउने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *