Main News

पर्यटन बोर्डका सीईओले आफ्नो इमान किन्न खोजेको मन्त्री आलेको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १६ गते १३:४५
पर्यटन बोर्डका सीईओले आफ्नो इमान किन्न खोजेको मन्त्री आलेको आरोप (भिडियो रिपोर्टसहित)

१६ पुस २०७८ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताउनु भएको छ ।

आज नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताउनु भएको हो । उहाँले हाल छानबिनका क्रममा रहनुभएका बोर्डका सीईओ धनञ्जय रेग्मीले आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

मन्त्री आलेले सीईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सीईओ बनाउँदा संस्था चल्न नसक्ने बताउनु भयो । उहाँले सीईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिनुभयो ।

मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तरगतका संघसंस्थाहरुमा विकृतिहरुको चाङ भएकाले सम्हाल्नै गाह्रो भइरहेको बताउनुभयो । उहाँले पहिला कालेकाले मिलेर भाले खाए पनि अब प्रेम आले आएकाले भ्रष्टाचार हुन नदिने बतउनु भयो ।

मन्त्री आलेले भन्नुभयो, ‘बेचेर खान पाए हुन्थ्यो भनेर त्यो धन्दामा छन् । यस्तायस्ता विकृतिहरु छन् सम्हाल्नै गाह्रो छ । म आइसकेपछि पर्यटन विभागमा भर्खरै हाम्रो डिजीसाब आउनु भएको थियो । उहाँलाई पनि थाहा थिएन । टेण्डर एउटा अनाउन्स भयो । त्यो टेण्डरमा के रहेछ भन्दा जसले ढुंगा छाप्यो उसले टेण्डर पाउने । फस्टमा टेण्डर निस्क्यो, एउटाले टेण्डर बिट गर्छ उसले ठेक्का पायो । दोस्रो वर्ष टेण्डर निकाल्दा जसले ढुंगा छापेको छ, उसैले ठेक्का पाउने । तेस्रो वर्ष पनि उसैले । मलाई एक लस्कर ठेकेदारहरुले भने हामी अर्बौं लगानी गरेर काम गरिरहेका छौँ । तर हामीले पर्यटन विभागको टेण्डरमा १५ करोडको ठेक्का लिन हामीलाई आउट गरिदियो । जम्मै सेटिङको काम छ भन्छन् । त्यसपछि मैले इमिडेट्ली क्यान्सिल गराएँ । त्यहीँभित्र म नाम लिन्न । होइन हजुर यो पहिलाकै चलन हो । पहिला त काले काले मिलेर खाउँ भाले भन्थे, अब आयो आले ।’

मन्त्री आलेले डब्लूटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गर्नुभयो । उहाँले सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने बताउनु भयो ।

मन्त्री आलेले भन्नुभयो, ‘म त्यो डब्लूटिएमको प्रोग्राममा जाँदा सबैभन्दा सानो स्टल हाम्रोतिर । दुई चारवटा कुखुरा अटाउने खालको । झन गैँडा भएपछि अट्न पनि गाह्रो । फोटो सेशन गरौँ भनेर गएका थियौँ। अट्न पनि गाह्रो छ । मैले निमित्त कार्यकारी सीईओलाई सोधेको छु कति खर्च भयो भनेर, इभन खानासमेत मैले आफ्नो पकेटबाट निकालेर खाएको छु । बस्न दूतावासमा म, सचिवज्यू लगायत बसेका छौँ । मेरो होटलमा एक रुपैयाँ खर्च भएको छैन । खानामा एक रुपैयाँ खर्च भएको छैन । ८० लाख बिल आयो भन्नुभएको छ । यो पनि एउटा कारबाहीको विषय बन्छ । ८० लाख के मा खर्च भयो ? मेरो टिकटको कुरा त पर्यटन मन्त्रालयबाट भएको छ । मेरो दायित्व त यहाँ जोडिएको छैन । के मा गर्नुभयो तपाईले ८० लाख खर्च ? त्यसको छानबिन गर्नुहोस् । कानूनी दायरामा ल्याउनुस् । कडाभन्दा कडा कारबाही गर्नुहोस् ।’

मन्त्री आलेले आफ्नो संस्थाप्रति उत्तरदायी भएर काम गर्न सबै कर्मचारीहरुलाई निर्देशनसमेत दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *