Main News

प्रदेश २ को नाम र राजधानीमा सहमति जुटाउन विशेष समिति

हिमालय टिभी
२०७८ पुष १३ गते १७:०५
प्रदेश २ को नाम र राजधानीमा सहमति जुटाउन विशेष समिति

१३ पुस २०७८ धनुषा । प्रदेश २ को नाम र राजधानीका विषयमा सहमति गर्न प्रदेश सभाले विशेष समिति गठन गरेको छ ।

सभामुख सरोजकुमार यादव संयोजक र उपसभामुख उपमा देव सहसंयोजक रहने गरी संसदीय अध्ययन विशेष समिति गठन गरिएको हो ।

समितिमा उपेन्द्र कुशवाहा, किशोरी साह ‘कमल’, जगत यादव, दिलिप साह, परमेश्वर साह, बिदेश्वर यादव ‘बिक्की’, शत्रुधन महतो, शारदा थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जय यादव, सावित्री देवी साह, सुन्दर बिक र सुरिता साह सदस्य हुनुहुन्छ ।

समितिले प्रदेशको नाम र स्थायी राजधानीबारे दर्ता भएको प्रस्तावमाथि छलफल गरी साझा प्रस्ताव तयार गर्ने सभामुख तथा समिति संयोजक सरोजकुमार यादवले बताउनुभयो । प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र राजधानीबारे २ वटा प्रस्ताव दर्ता भएको छ ।

यो समितिले राजनीतिक सहमतिको आधारमा प्रदेशको नाम र राजधानी तय गर्न सबै सरोकारवालासँग छलफल गर्नेछ । समितिले १५ दिनभित्र प्रदेशसभामा प्रतिवेदन बुझाउने छ । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेश २ को नाम मधेस प्रस्ताव गरेको छ ।

त्यस्तै नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेको छ । नेपाली कांग्रेसले मिथिला–भोजपुरा नामकरण प्रस्ताव गरेको छ । त्यस्तै कांग्रेसका केही सांसदहरुले मध्यमधेस नाम राख्नुपर्ने भन्दै छुट्टै प्रस्ताव दर्ता गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *